news-details
विचार

Share this post!

आगलागी : बेवास्ता गरिएको विपत्

नेपालमा बाढीपहिरोमा मानवमृत्यु बढी हुने गरेको देखिए पनि आर्थिक क्षतिको विवरण र घाइते हुनेहरूको संख्यामा आगलागीबाट हुने नोक्सानी अधिक छ ।

यतिखेर करिब छ हजार सानाठूला मानवनिर्मित स्याटेलाइटहरूले अन्तरिक्षका विभिन्न भागमा बसेर पृथ्वीको एक्सरे गर्ने गर्छन् । तीमध्ये पृथ्वीबाट लगभग ७०५ किलोमिटर टाढा अन्तरिक्षमा तैरिएका दुई दिदीबहिनी स्याटेलाइटहरूले यहाँको जल, जमिन र जलवायुको परिवर्तनलाई दैनिक नियाल्छन् । अमेरिकी राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष एजेन्सी (नासा) ले सन् १९९९ मा टेरा (ल्याटिन शब्द, अर्थ– भूमि) नाम गरेकी दिदी स्याटेलाइटलाई र सन् २००२ मा एक्वा (ल्याटिन शब्द, अर्थ– पानी) नाम गरेकी बहिनी स्याटेलाइटलाई अन्तरिक्षमा पुर्‍याएको थियो । 

यी दुवै स्याटेलाइटमा मध्यमस्तरीय रिजोलुसनको तस्बिर लिन सक्ने स्पेक्ट्रोरेडियो मिटर जडान गरिएको छ, जसलाई छोटकरीमा ‘मोडिस’ नामले चिनिन्छ । मोडिस उपकरणले कैद गरेका पृथ्वीको तस्बिरहरू नासाले दैनिक आफ्नो वेबसाइटमा राख्छ, जसलाई जोकोहीले हेर्न, डाउनलोड गर्न र विश्लेषण गर्न सक्छ । ती तस्बिरहरूमा पृथ्वीको दैनिक परिवर्तनका सूचनाहरू लुकेका हुनाले यहाँका परिवर्तनहरू हेर्न, बुझ्न र त्यसका कारणहरू खोतल्ने अनुसन्धान गर्न ती वरदान साबित भएका छन् । मोडिस उपकरणले पृथ्वीको वायुमण्डलमा तैरिने ‘एरोसोल’ भनिने सूक्ष्म तरल वा ठोस कणहरूको गुण केलाउने क्षमता पनि राख्ने हुनाले त्यसैका आधारमा पृथ्वीको वायु प्रदूषणदेखि, ज्वालामुखी विस्फोटन र ठूला आगलागीसम्मका अवस्थाहरूको जानकारी लिन सकिन्छ ।

यस पंक्तिकारले गत मंगलबार नासाको मोडिस उपकरणबाट प्राप्त विश्वभरका आगलागी भएका ठाउँहरूका संग्रहबाट नेपालको तथ्यांक लिएर हेर्दा गत सोमबार नेपालका करिब बत्तीस स्थानमा आगलागी भइरहेको देखिएको थियो । तिनमा मनाङको चामे गाउँपालिकामा गत मंसिर महिनादेखि निरन्तर लागिरहेको आगलागी पनि एक थियो । सुक्खा, खडेरी र हावाहुरीको मौसम बल्ल सुरु हुँदै गरेकाले आगामी दिनहरूमा आगलागीका घटना बढ्ने अनुमान गर्न सकिन्छ ।

बढ्दो आगलागी र डढेलो

मोडिस उपकरणको सेन्सरले कैद गर्ने आगलागीहरू प्रायः ठूला हुन्छन् । त्यसको प्रतिपिक्सेल २५० मिटरदेखि १००० मिटरसम्मको रिजोल्युसनभित्र वनजंगल वा ठूलो भागमा लागेका डढेलोहरू मात्रै देखिन्छन् । घर, कार्यालय, उद्योग, कारखानामा भएको आगलागी मोडिस–तस्बिरमा नदेखिन पनि सक्छ । त्यस्ता मानवीय संरचनाहरूमा भएको आगलागीका घटनाहरूलाई नेपालमा स्थानीय प्रशासनमार्फत गृह मन्त्रालयले पञ्जीकरण, संकलन र व्यवस्थापन गरिरहेको छ । स्याटेलाइटको उपकरणबाट कैद गरिएका तस्बिर र गृह मन्त्रालयका तथ्यांकहरू हेर्दा नेपालमा वनडढेलो र आगलागीको चिन्ताजनक अवस्था देख्न सकिन्छ ।

यस पंक्तिकारले सन् २००१ देखि २०१९ सम्म मोडिस उपकरणले खिचेका तस्बिरहरू मिलाएर वार्षिक डढेलोले खाएको ठाउँको क्षेत्रफल निकाल्दा, गत १९ वर्षमा नेपालमा ४५ लाखभन्दा बढी हेक्टर क्षेत्रलाई डढेलोले सखाप पारेको रहेछ । गत १९ वर्षमा नेपालमा सबैभन्दा धेरै वनजंगलमा डढेलो सन् २०१६ मा लागेको थियो । उक्त वर्ष ८ लाख हेक्टरजति जमिन डढेलोले खरानी पारेको थियो भने, गत वर्ष पनि करिब ४ लाख हेक्टर जमिन डढेलोबाट नष्ट भएको थियो ।

उक्त तथ्यांकलाई अहिलेका ७५३ स्थानीय पालिका तहमा केलाउने हो भने नयाँ डढेलो लागेका पालिकाहरूको संख्यामा बढोत्तरी हुँदै गएको पाइन्छ । उदाहरणका लागि, सन् २००१ मा डढेलो लागेको पालिकाको संख्या १०६ थियो (यद्यपि त्यो बेला स्थानीय निकायको स्वरूप अर्कै थियो) । सबैभन्दा धेरै डढेलो लागेको वर्ष सन् २०१६ मा ३१४ पालिकामा र गत वर्ष १८८ पालिकामा कम्तीमा एकपल्ट डढेलो देखियो । त्यसका आधारमा भन्न सकिन्छ– नेपालमा बर्सेनि एउटै ठाउँमा मात्रै डढेलो लागिरहेको छैन, डढेलोले नयाँनयाँ ठाउँलाई खरानी पार्दै छ । मोडिसको उक्त तथ्यांकअनुसार, नेपालमा चैत–वैशाखमा सबैभन्दा धेरै डढेलो लाग्छ भने, भौगोलिक रूपमा चुरे, तराई र मध्यपहाडी क्षेत्रमा सबैभन्दा बढी डढेलो लाग्ने क्षेत्रमा पर्छन् ।

गृह मन्त्रालयमातहत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अन्तर्गतको ‘विपत् पोर्टल’ का अनुसार, नेपालमा सन् २०११ देखि २०२० सम्ममा १३ हजारभन्दा बढी आगलागीका घटना सूचीकृत भएका छन् । आगलागीकै कारण सो अवधिमा १६ हजारजति घर नष्ट भएका, ६ सयभन्दा बढी मानिस मारिएका र १८ सय जनाजति घाइते भएका छन् । आगलागीका कारण नेपालमा बर्सेनि १ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको क्षति हुने गरेको तथ्य मन्त्रालयको तथ्यांकमा भेटिन्छ । र, क्षतिको अनुपात वार्षिक रूपमा करिब तीन गुणाले बढ्दै गएको पाइन्छ । तर मन्त्रालयको उक्त तथ्यांक स्थानीय रूपमा रिपोर्ट भएका विपत्हरूको तथ्यांक मात्रै भएकाले आगलागीका थुप्रै घटना त्यसमा नसमेटिएका पनि हुन सक्छन् ।

आगलागीको कारक र असर

विश्व खाद्य र कृषि संगठनका अनुसार, विश्वमा ९० प्रतिशतभन्दा बढी आगलागीको मुख्य कारक मानवीय गतिविधि हो । अन्यत्र (जस्तै ः अस्ट्रेलिया, अमेजन) का घना जंगलमा कहिलेकाहीँ चटयाङ्बाट डढेलो लाग्ने गरेको भए पनि नेपालमा अधिकांश आगलागी र वनडढेलोका घटनाहरू मानवीय कारणबाटै घटित हुने गरेका छन् । मानिसको असावधानीका कारण आगो बस्तीबाट, कृषिजन्य कुडाकर्कट डढाउने क्रममा, आगोका स्रोतहरू ननिभाई त्यसै फालिदिनाले जंगलमा फैलन्छ । कतिपय अवस्थामा मानिसले नियतवश– जस्तै : चोरी सिकारी गर्नका लागि, नयाँ घाँस उम्रियोस् भनेर र वन अतिक्रमण गर्नका लागि– पनि वनमा डढेलो लगाइदिने गरेको पाइन्छ । तर पछिल्लो समयमा विश्वव्यापी रूपमा जलवायु परिवर्तनसँगै गर्मी र खडेरीको क्रम बढ्दै गएकाले आगलागी बढाउन जलवायु परिवर्तनको पनि ठूलो भूमिका छ भन्ने मतहरू देखिन्छन् ।

त्यसै गरी सहरी क्षेत्रहरूमा निम्न गुणस्तरका विद्युतीय सामग्रीको प्रयोगका कारण बिजुलीको लाइन सर्ट हुने, खाना पकाउने क्रममा ग्यास वा दाउराको चुलोबाट आगलागी हुने गरेको पाइन्छ । साथै साँघुरा, दमकल छिर्न मुस्किल गल्लीहरूबीच घनाबस्ती भएकाले यदि आगलागी भइहालेमा पनि निभाउन र नियन्त्रण गर्न ढिलाइ हुने अवस्था छ । तर तीव्र सहरीकरणसँगै दमकल लगायतका अग्नि नियन्त्रण प्रणालीमा जसरी वृद्वि र सुधार हुनुपर्थ्यो र अग्नि सुरक्षाका नियमावलीहरू बनाएर अनिवार्य पालना गर्नुपर्थ्यो, त्यो खासै हुन सकिरहेको छैन । यी सबै कारणले आगलागीको खतरा न्यूनीकरण हुनेभन्दा जोखिमउन्मुख छ ।

कारण प्राकृतिक वा मानवीय (अनजानमा/नियतवश) जेसुकै होस्, आगलागीबाट हुने मानवीय र आर्थिक क्षतिलाई बाढी, पहिरो, अति वृष्टि र हावाहुरीजस्ता विपत्बाट हुने नोक्सानीसँग तुलना गर्ने हो भने आगलागीको क्षति विवरण भयावह देखिन्छ । उदाहरणका लागि, गृह मन्त्रालयको तथ्यांकले सन् २०११ देखि २०२० सम्ममा बाढीबाट ७५३ मानिसको मृत्यु र १६४ जना घाइते भएको अनि पहिरोबाट १,०८५ मानिसको मृत्यु र ९४७ जना घाइते भएको देखाउँछ । यसरी तुलना गर्दा नेपालमा बाढीपहिरोमा मानवमृत्यु बढी हुने गरेको देखिए पनि आर्थिक क्षतिको विवरण र घाइते हुनेहरूको संख्यामा आगलागीबाट हुने नोक्सानी अधिक छ ।

आगलागी वा डढेलोबाट हुने मानवीय क्षति मात्रै होइन, पर्यावरणीय क्षति पनि ठूलो छ । यद्यपि नेपालमा वनडढेलोले पार्ने वातावरणीय प्रभावका बारेमा खासै अध्ययन भएको छैन । वन अनुसन्धान तथा सर्वेक्षण विभागबाट सन् २०१५ मा प्रकाशित ‘नेपालको वनको अवस्था’ को प्रतिवेदनले, नेपालमा वनविनाश र क्षयका कारकहरूमध्ये डढेलोलाई चरीचरनपछिको प्रमुख कारक मानेको छ । वनजंगलमा डढेलो लागिसकेपछि तत्कालीन रूपमा त्यहाँ भएका वनस्पति, जनावरहरू आगोमा परेर मर्छन् । त्यसकारण डढेलोले जंगलभित्रको जैविक विविधतामा ह्रास ल्याउँछ । यसले जंगलको उत्पादकत्व र कार्बन सञ्चय गर्न सक्ने क्षमतालाई घटाइदिन्छ । वनजंगलमा लागेको डढेलोले उल्लेख्य मात्रामा वायु प्रदूषण गराउँछ । यद्यपि वन व्यवस्थापनमा प्रयोग गरिने नियन्त्रित वनडढेलो पारिस्थितिकीय प्रणालीको सन्तुलनका लागि फाइदाजनक नै मानिन्छ ।

बेवास्ता गरिएको विपत्

नेपालमा आगलागी र वनडढेलो जनधनको क्षति र पर्यावरणीय हानिको हिसाबले अन्य विपत्का तुलनामा ठूलो विपत् हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै ध्यान दिएको पाइँदैन । केदारमान श्रेष्ठले सन् २००१ मा प्रकाशित एक प्रतिवेदनमा ‘नेपालमा वनमा लाग्ने डढेलो नियन्त्रणका लागि समर्पित संस्था नभएको’ उल्लेख गरेका छन् । उक्त प्रतिवेदन लेखिएको दस वर्षपछि वन मन्त्रालयले डढेलो व्यवस्थापन रणनीति, २०६७ ल्यायो । त्यसले वनडढेलोसम्वन्धी नीति बनाउने र संस्थागत विकास गर्ने लक्ष्य राखेको थियो । तर पनि हालसम्म त्यस्तो निकाय बनिसकेको सुन्नमा आएको छैन ।

त्यसै गरी नेपालको विपत् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना, २०१८–२०३० मा आगलागी र वनडढेलो अनुगमनका लागि निरन्तर अनुगमन प्रणालीको विकास गर्ने भनिएको छ । साथै उक्त कार्ययोजनामा वनडढेलोसम्बन्धी अनुगमन र सूचना दिने प्रणालीको विकास, जानकारीमूलक सूचनाहरू राख्ने र प्रकोपको आकलन, नक्सांकन र क्षेत्र निर्धारण गर्ने कार्यहरू गर्ने भनिएको छ ।

सम्भवतः डढेलो व्यवस्थापन रणनीति र विपत् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजनामा भनिएअनुसारै नेपाल सरकारले अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) सँग मिलेर मोडिस उपकरणले संकलन गरेको तथ्यांकका आधारमा डढेलोको सूचना निरन्तर (रियल टाइममा) दिने प्रणाली पनि निर्माण गरेको थियो । तर यो पंक्तिकारले गत दुई महिनायता थुप्रैपटक प्रयास गर्दा पनि उक्त वेबसाइट खुलेन, त्यसले ‘अन्डर मेन्टेनेन्स’ भन्ने मात्रै देखाइरह्यो । त्यसकारण, विगत बीस वर्षमा आगलागी र वनडढेलो नियन्त्रण र व्यवस्थापनमा बनाउने भनेका नीतिगत र संस्थागत संरचना नबनेका मात्रै होइनन्, बनाइएका केही सूचनाका पोर्टलहरू नचल्ने पनि भएका छन् ।

केन्द्रमा देखिएको त्यो उदासीनता र बेहालको छाया तल्लो तहसम्म स्पष्ट रूपमा देख्न सकिन्छ । उदाहरणका लागि, गत एक महिनाभन्दा बढी समयदेखि मनाङको चामे क्षेत्रका हिमाली जंगलमा आगलागी भइरहेको छ, जसलाई हालसम्म पनि नियन्त्रण गर्न सकिएको छैन । त्यसरी नै रसुवा, लमजुङ, सिन्धुपाल्चोक लगायतका हिमाली क्षेत्रमा लागेको आगो अझै नियन्त्रणबाहिर छ । केही समयअघि पूर्वी नेपालको पाथीभारामा लागेको आगो निभाउन नेपालमै पहिलोपटक हेलिकोप्टर प्रयोग गरिएको समाचार आएको थियो । तर देशका अन्य भागमा लागिरहेको आगो निभाउन स्रोतसाधनको कमी भएका समाचार आइरहेका छन् । अग्नि नियन्त्रणका लागि सुरक्षाकर्मीहरू प्रयोग गरिए पनि उनीहरू निम्न स्रोत र साधनमा जोखिमपूर्ण काम गर्न बाध्य छन् ।

अन्त्यमा, गत वर्ष अस्ट्रेलियामा लागेको आगोले विश्वकै ध्यान आकृष्ट गर्‍यो । अस्ट्रेलियाको ठूलो भूभागमा लागेको आगो भए पनि त्यसमा परी जम्मा ३४ मानिसले ज्यान गुमाए । नेपालमा बर्सेनि ६० भन्दा बढी मानिसले आगलागीमा ज्यान गुमाउँछन्, सयौं घाइते र अर्बौंको क्षति हुन्छ अनि असीमित पर्यावरणीय विनाश हुन्छ । यस्तो विनाशकारी विपत्प्रति सरकारी ऊदासीनता किन ?