news-details
समाचार

Share this post!

जो हिमनदीको बाढीमा परेर बाँचे

-कान्तिपुर दैनिक, नयाँदिल्ली — हिमनदी विस्फोटपछिको बाढीले एनटीपीसी जलविद्युत् परियोजनाका दुईवटा सुरुङ हिलो र ढुंगाले भरिएका थिए । किरण विश्वकर्मा भारतको उत्तराखण्ड राज्यस्थित उक्त परियोजनाको निर्माणाधीन सुरुङबाट आइतबार जीवितै उद्धार गरिएका चार नेपालीमध्येका एक हुन् । प्यूठान गौमुखी–३ का उनी सुरुङभित्र वेल्डिङको काम गर्थे । परियोजनामा २५ नेपाली कार्यरत रहे पनि बिदाको दिन भएकाले बाढी आउँदा सुरुङभित्र चार नेपाली मात्र थिए । २५ जना सबै प्यूठानका हुन् । ज्यान जोगाउन सबै भागे पनि विष्णु मल्ल अझै सम्पर्कमा नआएको उद्धार गरिएका नेपाली कामदारले बताए । आयोजनाको सानो सुरुङमा फसेका चार नेपाली र अन्य ८ भारतीयलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को टोलीले उद्धार गरेको थियो ।

बाढीले तपोवनस्थित ऋषिगंगा र एनटीपीसी परियोजनामा बढी क्षति पुर्‍याएको छ । ३४ जनाको मृत्यु पुष्टि भइसकेको छ । बेपत्ता १७० जनामध्ये ११ जना नेपाली रहेको चमोली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी आउँदा सुरुङभित्र १२ मजदुर काम गरिरहेका थिए । उनीहरू बिहान ८ बजे ड्युटीमा पुगेका थिए । साढे ३ सय मिटरको सुरुङमा काम गरिरहेका बेला एक्कासि बाढी आएपछि भागाभाग भएको थियो । ‘मसहित सन्त गुरुङ, चित्रबहादुर विश्वकर्मा, वसन्तबहादुर सुनार थियौं । करिब सवा १० बजेतिर साथीहरूले एक्कासि भाग् भाग् भनेर कराए । त्यसपछि काम छाडेर सबै जना भाग्न थाल्यौं,’ ३४ वर्षीय किरणले टेलिफोनमा भने, ‘सुरुङभित्र पूरै पानी भरिएको थियो । भित्तामा भएको फलाम समातेर माथि उक्लियौं ।’