news-details
अर्थतन्त्र

Share this post!

अदुवाले ग्राहक पाएन 

तनहुँ  । किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन्। अदुवा किन्‍ने व्यापारी नआएपछि उनीहरू चिन्तित हुन थालेका हुन्।  उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ। गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दुखेसो रहेको छ। गत वर्ष धार्नीको दुई सयमा बिक्री भएको थियो। यसवर्ष एक सयदेखि एक सय २० रूपैयाँसम्म मूल्य तोक्ने गरेको भीमाद नगरपालिका(४ का तुलबहादुर थापाले जानकारी दिए।  

पाँच रोपनीमा अदुवा लगाउँदै आएका उनले भने, “गत वर्ष दुई लाख बराबरको अदुवा बिक्री गरेको थिए। यो वर्ष एक लाख कमाउनसमेत मुस्किल परेका छ।” भारतीय बजारमा निकासी नहुँदा ९० प्रतिशत किसानको अदुवा बारीमा नै रहेको छ। जिल्लाका भीमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकालाई व्यावसायिक अदुवाखेतीको लागि पकेट क्षेत्र मानिन्छ। पहाडी क्षेत्रका किसानका लागि अदुवा मूख्य नगदेबालीको रुपमा लिइन्छ। अदुवाको गत फागुन र चैत महिनामा लगाउने गरिन्छ भने नौ महिनामा तयार हुन्छ। अदुवा पुस र माघ महिनामा खन्ने गरिन्छ। गतवर्ष भारतमा माग धेरै भएकाले मूल्य राम्रो पाउँदा जिल्लामा करीब ५० करोड बराबरको अदुवा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।  जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा पाँच सय १० हेक्टर जमीनमा अदुवाखेती भएकोमा सात हजार तीन सय ८० मेट्रिक टन उत्पादन भएको थियो। त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा पाँच सय ३० हेक्टर जमीनमा खेती गरेकोमा सात हजार सात सय ४९ मेट्रिक टन उत्पादन केन्द्रले जनाएको छ। रासस