news-details
समाचार

Share this post!

भक्तपुरमा मोटरसाइकल चोरी गर्ने सात जना पक्राउ 

भक्तपुर । मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरिय प्रहरी परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसंग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गा.पा. वडा नं. ९ बस्ने बर्ष २२ को कुल बहादुर तामाङ, खिजी देम्बा गा.पा. वडा नं. २ बस्ने बर्ष २८ को पञ्चमान तामाङ र लिखु गा.पा. ९ बस्ने बर्ष २४ को गोबिन्द गौतम रहेका छन् । 
उनीहरुले सुर्यबिनायक नगरपालिका वडा नं.८ सिपाडोल बस्ने किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नं.को मोटरसाइकल चोरी गरेको प्रहरीले जानकारी दिएको छ । 

त्यसैगरि सोही समुहले बाराही स्थानको उकालोबाटो स्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने पेम्बा तामाङले डेरा कोठा अगाडीबाट प्रदेश २–०२० प ८८२७ नं. चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । फागुन ४ गते भक्तपुर नगरपालिका वडा नं. ७ स्थित आदर्शचोकमा चेकजाँचको क्रममा बा. ९८ प. ८९६४ नं. हरी गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । 
‘दोलखा शैलुङ गा.पा. वडा नं. ४ घर भई हाल ललितपुर धोबिघाट बस्ने बर्ष २७ को अभिषेक योञ्जन र  शैलुङ गा.पा. वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने बर्ष १९ को सुमन नेपालीलाई पक्राउ गरिएको छ,’ डीएसपी गिरीले भने । 

४ गतेनै मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प. ७०४८ नं. को २२० सि.सि. को कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक सुदन के.सीको कमाण्डको प्रहरी टोलीले दोलखा शैलुङ गा.पा. २ घर भई सुर्यविनायकमा बस्ने बर्ष २३ को फुर्वा तामाङ र उसको साथी बर्ष २१ को राजु तामाङलाई पक्राउ गरेको हो । उल्लेखित चार वटै मोटरसाइकलहरु जिल्लाका भिन्न भिन्न स्थान र समयमा माथि उल्लेखित अभियुक्तहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी गिरीले बताए । सम्बन्धित मोटरसाइकल धनिहरु समेतबाट किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको हुँदा कानून बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।