news-details
समाचार

Share this post!

प्रधानमन्त्रीको सुरक्षामा रहेका सेनाले बोकेका ब्रीफकेसमा के हुन्छ ? 

बीबीसी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा उनको पछाडि उभिएका सुरक्षाकर्मीले बोकेका ब्रीफकेसबारे आजभोली धेरैको चासो हुने गरेको देखिएको छ। प्रधानमन्त्रीसँगै खटिने सुरक्षाकर्मीहरूले केही वर्षयता हातमा ब्रीफकेस बोकेर नजिकै उभिने गरेको देखिँदै आएको छ। पछिल्लो पटक ओलीको दायाँबायाँ र पछाडि तीन सुरक्षाकर्मीले हातमा ब्रीफकेस झुन्डाएर उभिएको देखिएको हो।  तस्बिरहरूमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेनाका तालिमप्राप्त सुरक्षाकर्मीहरूले बोकेका तीनमध्ये दुईवटा ब्रीफकेस उस्तै देखिन्छन् भने एउटा अलि फरक छ। सुरक्षा मामिलाका जानकारहरूका अनुसार अलि मोटो देखिने ब्रीफकेसमा सबमशीनगन हुन्छ भने अलि पातला दुईवटा ब्रीफकेसमा प्रोटेक्टिभ शील्ड भनिने सुरक्षाकवच हुन्छ। मोटो ब्रीफकेसमा भित्र राखिएको अत्याधुनिक हतियारबाट गोली निस्किने प्वाल पनि देखिन्छ।

ब्रीफकेसको ह्यान्डलसँगै रहेको ट्रिगरबाटै यसभित्र राखिएको हतियार चलाउन सकिने हतियारसम्बन्धी वेबसाइट ुगन्सुले उल्लेख गरेको छ । पातलो ब्रीफकेसमा भने दुईदेखि तीन पत्रसम्म पट्याएर गोली छेक्ने पाताहरू राखिएका हुन्छन्। विशिष्ट व्यक्तिहरूमाथि कुनै आक्रमण भएको अवस्थामा अङ्गरक्षकहरूले यस्तो ब्रीफकेसलाई तुरुन्तै सुरक्षा ढालको रूपमा प्रयोग गर्न सक्छन्। जोडले झड्कार्ने वा तान्नेबित्तिकै सुटकेसभित्र पट्टिएर बसेका पाताबाट गोली र अन्य प्रहार रोक्न सकिने एक सुरक्षा अधिकारीले बताए।

कहिलेदेखि प्रयोग हुन थाल्यो ? 
सुरक्षा संवेदनशीलताका कारण विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी कतिपय सूचना खुलाउन नमिल्ने अधिकारीहरूको भनाइ छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले यस्ता ब्रीफकेसमा विशिष्ट व्यक्तिहरूको सुरक्षामा प्रयोग हुने उपकरण राखिने जानकारी दिए। तर उनले ती उपकरणबारे विस्तारमा बताउन चाहेनन्। 'विशिष्ट व्यक्तिहरूको सुरक्षा सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनअनुसार भित्री घेरामा परिचालन हुने नेपाली सेनाको टीमले बोक्ने ब्रीफकेसमा सुरक्षाको लागि आवश्यक हुने उपकरणहरू बोकेका हुन्छन्,' पौडेलले भने । पूर्वउपरथी बस्न्यातले अतिविशिष्ट व्यक्तिको सुरक्षामा ब्रीफकेससहितको सुरक्षा उपकरण बोक्ने चलन नयाँ नभएको बताए । 'यो नयाँ सुरु भएको होइन, सुरक्षाको एउटा भागको रूपमा पहिल्यैबाट बोक्ने गरिन्थो,' बस्न्यातले भने । तत्कालीन राजपरिवारको सुरक्षामा पनि यसको प्रयोग हुने गरेको उनले बताए।