news-details
समाचार

Share this post!

कैन्दीबन्दीको पीडाः उडुस मार्दै रात काट्दै 

भवन जीर्ण भएकाले कतिबेला भत्किएर ज्यान लिन्छ कि भन्ने डरैडर

लमजुङ । वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मानिस । नजिकै शौचालयबाट आइरहेको ह्वास्स दुर्गन्ध । यो कष्टकर र अत्यासलाग्दो अवस्था हो – जिल्ला कारागारको । मापदण्डअनुसारको यहाँको कारागारको संरचना छैन । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ । अहिले ९१ कैदीबन्दी रहेका छन् । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्न बाध्य छन् । बेंसीशहर नगरपालिका वडा नं ८ मा स्थित जिल्लाको एकमात्र कारागारमा विभिन्न सजय भुक्तानी गर्दै आएका कैदीबन्दीलाई चिन्ता र कष्टले सताइरहन्छ । उनीहरु यतिबेला चिसोको मारमा छन् ।

संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसोयाम होस् वा गर्मी याम । यहाँ उनीहरुलाई बाह्रै महिना दिनरात समस्या हुने गर्दा चिन्तामै हुने गरेका हुन् । चार वर्षदेखि कैद भुक्तानी गर्दै आइरहेका सुवास रानाभाटले भने, “पुस माघको समयमा हामीलाई सुत्न बस्नलाई नै समस्या भइरहेको छ । तल भुइँबाट सिमेन्टीको चिसो आउने गर्दछ । चिसो भुइँमा सुत्नुपर्छ ।” धेरैजना भएकाले भुइँमा लमतन्न भित्र छिर्ने ढोकादेखि शौचालयसम्मै म्याट ओछ्याएर सुत्नुपर्दा विभिन्न समस्या भइरहेको उनको भनाइ छ ।सिमेन्टको चिसो दिउँसो घाम लाग्दा पनि ओभानो हुँदैन । रातमा त बढी नै चिसो हुने र बिहान कतिबेला घाम लाग्ला र बाहिर घाम ताप्न पाइला भन्दै रात कटाउने गरेको उनले दुःखेसो पोखे । “यहाँ बढी केन्दीबन्दी हुँदा शौचालय जाने बाटोसम्मै सुत्ने गरेको छौँ । राति शौचालय जाने ठाउँ पनि पाइँदैन । बिहान पालो कुर्दाकुर्दै घण्टौँ बित्छ”, उनले भने । यस्तो समस्यामा दिनरात कटाउनुपर्दा निकै चिन्ता हुने गरेको छ । सात वर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तानी गर्दै आएका जीवन अधिकारीले भने, “हामीलाई सुत्ने, बस्ने ठाउँमा चिस्यान नै चिस्यान छ । समाधान छैन । यही चिसोका कारणले यहाँ दिनहुँ दुई चार जना रुघाखोकीको बिरामी हुने र निको हुने गरेको छ ।” यति मात्र होइन कोभिडका बेला सामाजिक दूरी कायम गरी उनीहरु सुत्ने र बस्ने गरेका थिए । कोचिएर एउटै ठाउँमा खानुपर्दा कोरोनाको धेरै डर त्रास हुने गरेको थियो । अहिले कोभिडको जोखिम कम छ । चिसो मौसम सकिएर गर्मी मौसम शुरु हुनेबेला भएको छ ।

गर्मी मौसममा त झन् बढी समस्या हुने गरेको उनको भनाइ छ । गर्मीले उकुसमुकुस बनाउने, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कतिबेला भत्किएर ज्यान लिन्छ कि भन्ने डरैडरमा कैदीबन्दी रहेका छन् ।“गर्मीका बेला खुला हावा आउने हुनुपर्दछ । सबै एउटै ठाउँमा कोचिएर बस्नुपर्दा श्वास फेर्नसमेत कठिन हुने गर्दछ,” उनले भने । शौचायलय जानसमेत पालो कुरेर बस्नुपर्ने, अझै दुर्गन्धित भएकाले रोग लाग्ने बढी सम्भावना गर्मी याममा हुने गरेको छ । तीन वर्षदेखि कैद सजाय काट्दै आएका मङ्गलबहादुर गुरुङले भने, “राणाकालको आँखीझ्याल जस्तो हामी बस्ने ठाउँ छ । धेरै बस्दा एकअर्काको रोग सर्ने सम्भावना पनि उच्च रहेको छ । वर्षेनी गर्मीमा ओछ्यानमा उडुस पर्ने गर्छ । टोकेर सुत्नै मुस्किल हुन्छ । राति १२ बजेसम्म उडुस मार्नमै व्यस्त हुने गर्दा राम्रोसँग सुत्नसमेत समस्या हुने गर्दा गर्मी शुरु हुन लाग्दा थप चिन्तामा छौ । -khabarhub