news-details
अर्थतन्त्र

Share this post!

तातोपानी नाका पुनः सञ्चालनमा

काठमाडौं । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । माघ ३० गते शुक्रबारबाट बन्द भएको नाका आजदेखि पुनः सञ्चालनमा आएको छ, आज ८ वटा कन्टेनर आउँदैछन्,’ खत्रीले भने । नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले बताए ।

नेपाली व्यवसायीले चाहेजति सामान तातोपानी नाका भएर भित्र्याउन सकिने भन्सार प्रमुख खत्रीको भनाइ छ । नाका भएर माल वस्तु आयातका काम ढुक्क भएर गर्न चिनियाँले पक्षले आग्रह गरेको भन्दै उनले नेपाली व्यवसायीलाई पुनः व्यापार सुरु गर्न आग्रह गरे । यता माघ २९ गतेदेखि ल्होसार कै कारण बन्द रहेको रसुवागढी नाका भने अझै खुल्ने निश्चित भएको छैन् । अनौपचारिक कुराकानीमा चिनियाँ पक्षले यही मंगलबारदेखि नाका खुल्ने बताए पनि त्यसपछि थप सूचना नआएको रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । अब खुल्दा नाकाबाट हुने ब्यापार कस्तो हुन्छ भन्ने विषयमा पनि चिनियाँहरुले कुनै जानकारी नगराएको उनको भनाइ छ ।