news-details
समाज

Share this post!

चाँगुनारायण आईपुुगे माधवनारायणका व्रतालु

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका व्रतालुु मंगलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् । व्रतालुु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गर्ने परम्परा छ । माघ शुक्ल पूणिर्मासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा व्रतालुुले तीर्थयात्रा सम्पन्न गरेका छन् । माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि व्रतालुु मंगलबार राति १० बजेपछि चाँगुनारायण पुगेका थिए । व्रतालुु चाँगुनारायणबाट आज साँखु फर्किएर घरघरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्रा गरिन्छ । जात्रा साँखु बजार घुमाउने प्रचलन छ ।

विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए । कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शंखरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरूपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ । साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ । भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।