news-details
राजनीति

Share this post!

राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग 

काठमाडौं । विवेकशील साझा पार्टीले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। 
सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गत गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि विवेकशील साझा पार्टीले उनीहरुको राजीनामा माग गरेको हो।  “प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टी हार्दिकतापूर्वक स्वागत गर्दछ,” विवेकशील साझाले विज्ञप्तिमा भनेको छ, “सम्मानित अदालतको उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको छ।” सर्वोच्चको फैसलाले अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको समेत विवेकशील साझाले जनाएको छ। 
“अदालतको कदमले संविधानवादको रक्षा भएको छ, विधिको शासनको पुनर्बहाली भएको छ र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको छ। यो सँगै हाम्रो न्यायालय कुनै पनि दबाब र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश पनि प्रवाह भएको छ,” विज्ञप्तिमा उल्लेख छ।