news-details
अर्थतन्त्र

Share this post!

आन्तरिक पर्यटकको चहलपहल बढ्यो पोखरामा 

कास्की । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ। कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन्। पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन्। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द भएका पर्यटक त्रास कम भएपछि घुमफिरमा समय दिन थालेका छन्। साथै, कोरोना खोप लगाउन सुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो।

पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ। फेवातालमा डुङ्‍गामा सयर गर्ने र प्याराग्लाइडिङमा रमाउनेहरु पनि उत्तिकै छन्। विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ। अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन्। देशका पूर्वमेचीदेखि महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन्। दसैंपछि पोखरामा पर्यटक बढ्न सुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्‍जीवी पोखेरलले बताए। केही तेस्रो मुलक तथा छिमेकी  भारतका पर्यटकसमेत अहिले पोखरामा छन्।