काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ । अब दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ । सर्वोच्च अदालतको यो फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नाम परिवर्तनका लागि बोलाउनेछ । त्यसका लागि दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल अनि महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ । नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्ने भएकाले नेकपाका केन्द्रीय सदस्यमध्ये दुई तिहाइले त्यसबारे निर्णय गर्नुपर्नेछ । हालको अवस्थामा यसरी निर्णय हुनु करिब असम्भवजस्तै हो ।प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैरकानुनी रूपमा नक्कल गरिएको हो भनी सर्वोच्च अदालतमा मुद्दा परेको थियो । नेपाल कम्युनिस्ट पार्टीका संयोजक कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज फैसला भएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।