news-details
समाज

Share this post!

स्थानीयद्वारा सडक सुधारको माग गर्दै सहिदमार्ग अवरुद्ध

रोल्पा । सिमेन्ट उद्योगको टिप्परले सडक विग्रिएको भन्दै स्थानीयले सडक सुधारको माग गर्दै आज सहिदमार्गको घोराही–होलेरी खण्ड अवरुद्ध पारेका छन् । सडक सुधारको माग गर्दै संघर्ष समिति नै बनाएर केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयले आज सडक ठप्प पारेका हुन् । रोल्पाको रुन्टीगढी गाउँपालिका–५ नयाँगाउँबाट दाङमा रहेको सिमेन्ट उद्योगका लागि सहिदमार्ग हुँदै दैनिक सयौं टिप्परहरूले चुनढुंगा ढुवानी गर्ने गर्दछन् । टिप्पर गुड्नका लागि वैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने माग यसअघिदेखि नै गर्दै आएको भएता पनि सुनुवाइ नहुदा आन्दोलन गर्नुपरेको सहिदमार्ग सडक सुधार संघर्ष समितिका संयोजक नन्दराम खड्काले बताउनुभयो ।अन्य सवारीसाधनका लागि एक दिन बन्द गरिएको भएता पनि टिप्परको हकमा भने अर्को विकल्प नहुँदासम्म अवरुद्ध गर्ने पनि संघर्ष समितिले जनाएको छ । शान्तिपूर्ण ढंगले माग राख्दा कुनै पनि सुनुवाई नहुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सडक बन्द गर्नु परेको संघर्ष समितिका संयोजक खड्काको भनाइ छ ।