news-details
समाचार

Share this post!

आधुनिक खेती प्रणालीले बढ्यो गहुँ उत्पादन बढ्यो 

कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटा गाउँमा गहुँ उत्पादन बढ्दै गएको छ। किसानले आधुनिक उपकरण, उन्नत जातको बिउ र मल प्रयोग गर्न थालेपछि उत्पादन बढ्दै गएको हो। कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत चौधरी थारु गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ। विगतमा खान मात्र मुस्किल पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ। किसानहरुले गहुँ बेच्न थालेका छन। कृषि उपकरणको प्रयोगले गहुँ उत्पादनमा वृद्धि भएको ब्लक समितिका संयोजक श्रीराम चौधरीले बताए।

‘गोरु प्रयोग गरी गहुँ लगाउँदा खेतमा राम्ररी नउम्रने र माटो मसिनो बनाउन नसक्दा समस्या हुन्थ्यो‚’ उनले भने, ‘हाल गहुँ खेतीका लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ। पहिला खानकै लागि ठिक्क हुने गहुँ बेचेर घर खर्च चलाउँदै आएका छौं।’ कृषिमा आधुनिक यन्त्रको प्रयोग हुन थालेपछि ब्लकमै आवद्ध सविनादेवी चौधरी खुसी छन्। ‘महिलाको निकै बोझ घटेको छ‚’ उनले भनिन्‚ ‘बेचेका समयमा तरकारी खेती गरेर अतिरिक्त आम्दानी हात पार्दै आएका छौं।’ यस ठाउँ गहुँ बालीजस्तै तरकारी खेतीका लागि पनि चिनिएको छ। विगतमा हलोको प्रयोग गरी खेत जात्दा ठूलठूला डल्ला आउने गरेको थियो। महिलाहरुले डल्ला फोडनु पर्दथ्यो। डल्ला फोडने विषयमा श्रीमान् श्रीमतीबीच झगडा समेत हुने गरेको सविनाले बताइन्। ‘मनमुटाव बढ्दै जाँदा हातापातसम्म हुन्थ्यो‚’ उनले भने, ‘हलो जोत्ने श्रीमानका लागि पानी र खाना बोकेर खेतमै पुर्‍याउनु पर्ने बाध्याता थियो।’

परियोजनाअन्तर्गत ब्लकमा आवद्ध किसानले तालिम समेत पाएका छन्। रोग‚ किराको निदान गर्न र माटो सहाउँदो बउको छनौट गर्न किसान सक्षम भएका छन्। खेतमा विगतको जस्तो आकाशे पानीको भर पर्नु पर्दैन। खेत खेतमा सिँचाइका लागि पम्पसेट र विद्युतीय मोर्टर जडान गरिएका छन्।गहुँ खेतमा छर्नेदेखि थ्रेसिङ गरी भकारीसम्म राख्ने कार्य कृषि औजार र यन्त्रको सहायताले गरिँदै आएको छ। ‘खेती लगाउन निकै समय खर्चिनु पर्दथ्यो‚’ किसान धनबहादुर चौधरीले भने, ‘पुरुषको तुलनामा महिलाहरुलाई कार्य बोझ अधिक थियो। काट्नेदेखि गहुँको दाइँ लगाउनेसम्म महिलाले गर्दै आएकोमा अब त्यो काम कृषि यन्त्र र औजारले गर्न थालेको छ।’