news-details
समाचार

Share this post!

बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान १९ जना घाइते

भक्तपुरमा । आठ रात नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा स्थानीय बासिन्दाबीच् झडप भएको छ । हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।  घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

हिजो दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय  दिपेश साँगाछें घाइते भएका छन् । घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ । त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ । अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पु¥याइएको छ । यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।