news-details
समाचार

Share this post!

धरहरा उद्घाटन वैशाख ११ गते गरिने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले राजधानीमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उनले भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए । भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रबलीकरणको प्रविधि भित्रिनु सुखद् विषय भएको उहाँको भनाइ थियो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पुनःनिर्माणसम्बन्धी सेवा प्रवाह गर्न टिआई नेपालको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमले सहयोग एवं सतर्क बनाएको विचार व्यक्त गरेका छन् ।  प्राधिकरण, टिआई नेपाललगायत सरोकार भएका निकायको सहयोगमा चाँगुनारायण नगर क्षेत्रमा अनुपस्थित जमिन्दार कहाँ बसोबास गर्ने एक हजार भूकम्प पीडितको समस्या समाधान गर्न सफल भएको उनको भनाई थियो ।