news-details
अन्तरास्ट्रिय

Share this post!

सबैभन्दा लामो युद्धबाट अमेरिकाले सैनिक फर्काउँदै

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने योजनाबारे बुधबार औपचारिक घोषणा गरेका छन् । ‘यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने समय हो,’ ह्वाइटहाउस ट्रिटी रुमबाट बाइडेनले भने । वर्ल्ड हमलाको २० औं वार्षिकी पारेर ११ सेप्टेम्बरसम्म बाँकी रहेका सबै २५ सय सैनिकहरुलाई फिर्ता ल्याउने योजना बाइडेनले सार्वजनिक गरेका हुन् । १ मईबाट सेना फिर्ताको प्रक्रिया सुरु हुने बाइडेनले बताएका छन् ।११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतंकवादी हमला भएको केही दिनभित्रै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘आतंकवादविरुद्धको लडाइँ’ सुरु भएको घोषणा गरेका थिए र अफगानिस्तानमा तालिवानको सत्ता पल्टाउनेगरी अमेरिकी सैनिक परिचालित भए ।त्यसयता अफगान युद्धमा २४ सय अमेरिकी मारिए भने १ ट्रिलियन अमेकिी डलरभन्दा धेरै खर्च भयो । यस युद्धका क्रममा अफगानिस्तानमा भएको क्षति हिसाब गरेर साध्य छैन । अहिलेसम्म लाखौं मानिस मारिइसकेका छन् भने दशौं लाख शरणार्थी बनेका छन् । अफगानिस्तानका राष्ट्रपति असरफ घानीका अनुसार २०१४ देखि २०२० सम्मको अवधिमा मात्रै कम्तिमा ४८ हजार अफगान सुरक्षाकर्मी मारिएका छन् । अफगानिस्तानमा ९ हजार ६ सय नेटो छन्, त्यसमध्ये अमेरिकी सैनिकको संख्या  २५ सयको हाराहारीमा रहेको  अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि फेब्रुअरी २०२० मा अफगान सरकार र तालिवानबीच भएको शान्तिवार्ताअनुसार  १४ महिनाभित्र विदेशी सेना फिर्ता गर्ने सहमति बनेको थियो । तर, हिंसात्मक गतिविधि कम नहुँदा तालिवानप्रति शंका पनि उब्जिएको थियो । यद्यपी, पछिल्लो समय तालिवानले हिंसा कम गर्ने वाचा पालना गरेकाले सेना फिर्तीको पहल थालिएको अमेरिकाले जनाएको छ । अफगानी राष्ट्रपति असरफ घनीले अमेरिकी निर्णयको सम्मान गर्ने र सबैसँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताएका छन् । आफ्नो देश र जनताको रक्षाका लागि अफगान सेना पूर्ण रुपमा सक्षम रहेको पनि उनले बताए ।अफगान सरकारलाई सहयोग कायमै रहन्छ – बाइडेन
सेना फिर्ता गरेपनि अफगानिस्तानमा शान्ति कायम गर्नका लागि आफ्नो सहयोग जारी रहने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । ‘अफगानिस्तानमा हाम्रो उपस्थितीलाई लम्ब्याउने वा बढाउने चक्रलाई अब जारी राख्न सक्दैनौं । यद्यपी, सैनिक उपस्थिती नभएपनि हाम्रो कुटनीतिक र मानवीय सहयोग जारी रहनेछ,’ उनले भने ।अफगान सुरक्षा बललाई अमेरिकाका तर्फबाट भविष्यमा पनि सहयोग रहिरहने उनले बताए । जर्ज डब्ल्यु बुसको समयमा सुरु भएको यस युद्ध चारवटा राष्ट्रपति कायम रहदाँसम्म चलिरहेको छ । बुसपछि राष्ट्रपति बनेका बाराक ओबामा र डोनाल्ड ट्रम्पले सेना फिर्ता गर्ने घोषणा गरेपनि त्यसलाई पूर्ण कार्यान्वयन गर्न सकेनन् ।