news-details
राजनीति

Share this post!

एमालेतिर लागेका  १३ जना सांसदको पद गुम्यो

काठमाडौं । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादीलाई राजनीतिक रुपमा नराम्रोसँग झड्का लागेको छ । सोही फैसलाअनुसार नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युँतिए पनि तत्कालीन माओवादीका प्रदेशदेखि सङ्घीय संसदसम्म प्रतिनिधित्व गर्ने सांसदहरु एमालेतिर लागे । उनीहरु मुल पार्टीमा नफर्किएपछि माओवादी केन्द्रका १३ सांसदले पद गुमाएका छन् । अर्थात माओवादीले विभिन्न प्रदेश, सङ्घीय प्रतिनिधि सभा र राष्ट्रियसभाका १३ सांसद गुमाएको हो ।आइतबारमात्रै एमालेका लागेका पूर्व माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वतः पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद् सचिवालयमा दर्ता गरेको थियो ।

सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयसँगै संसद् सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए । उनी पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो ।