news-details
अन्तरास्ट्रिय

Share this post!

जंगलमा हराएकी महिला ६ महिनासम्म घाँस खाएर बाँचिन्

अमेरिकामा ६ महिना अघि हराएकी एक महिला एउटा सानो पालमुनि जीवितै फेला परेकी छिन् ।उटास्थित एक गल्छीबाट हराएकी ती ४७ वर्षीया महिला ६ महिनासम्म झारपात तथा घाँस खाएर बाँचेको बताइएको छ ।साल्ट लेक सहरभन्दा ४० माइल दक्षिणमा पर्ने स्पेनिश फोर्क क्यान्योनबाट गत नोभेम्बरमा हराएकी थिइन् । गल्छी नजिकैको गाडी पार्किङस्थलमा उनको कार तथा क्याम्पिङका सामानहरु मात्र फेला परेका र ती महिला नभेटिएपछि उनी बेपत्ता भएको घोषणा गरिएको थियो ।उटा काउन्टीस्थित प्रहरी कार्यालयले उक्त क्षेत्रमा ती महिलाको खोजी कार्य गरेको थियो । तर ती महिलालाई फेला पार्न नसकेको र उनका आफन्तसँग पनि सम्पर्क हुन नसक्दा ती महिला कारलाई त्यहीँ छाडेर कोलोराडोतिर गएको हुनसक्ने अनुमान गर्दै उनी बेपत्ता भएको ठहर गरे ।यद्यपि खोज तथा उद्धार दलले स्थल तथा हवाई माध्यमबाट समेत उनको खोजीकार्य जारी राखेको थियो । अन्ततः गत हप्ता ती महिला फेला परिन् वास्तवमा ती महिला फेला पर्नु पनि एउटा अनौठो संयोग तथा काकताली बन्यो । खोजी कार्यलाई सघाउनका लागि उडाइएको ड्रोन खोँचमा खसेपछि उक्त ड्रोन खोज्दै ड्रोनका पाइलट र प्रहरी अधिकारी ड्रोन खसेको ठाउँतर्फ गए । जब उनीहरु त्यहाँ पुगे एउटा पूरानो र प्रयोग भएर छाडिसकिएको जसतो पाल टाँगिएको अवस्थामा उनीहरुले देखे । जब उनीहरु उक्त पालको नजिक पालको चेन खोलेर एक महिला त्यहाँ देखा परिन् । आखिर ती हराएकी महिला उनै थिइन् जो ६ महिनादेखि सोही पालभित्र बसेकी थिइन् ।६ महिनासम्म त्यसरी बेवारिसे अवस्थामा निर्जन ठाउँमा पालभित्र बसेकी ती महिला निकै दुब्ली र कमजोर अवस्थामा थिइन् । आफू खोँचमा हराएसँगै जानीबुझीकन पालभित्र बसेको भन्दै उनले कष्टपूर्ण तरिकाले जाडोयामको चिसो कटाएको र घाँस, झारपात र नजिकैको नदीको पानी खाएर बाँचेको बताइन् ।अधिकारीहरुले ती महिलाको उद्धार गरी उनको मानसिक स्वास्थ्यको जाँचका लागि अस्पताल लगे ।ती महिला आगामी दिन पुनः गल्छीमा उसैगरी बस्न चाहेमा कानूनले रोक्न नसकिने अधिकारीहरु बताउँछन् । ती महिलाको नाम चाहीँ खुलाइएको छैन ।