बझाङ । सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै स्थानीय कुन बेला सदरमुकाम बगाउने हो भन्ने त्रासमा छन् । सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ । खोलाले बगाएको बगरमा बस्ती बसेको र कुनै समय खोलामै विलय हुन सक्ने खतरा रहेको जानकारहरू बताउँछन् ।लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ । मनसुन भित्रिएसँगै भएको अविरल वर्षाका कारण सेती, कालंगा नदी, बाहुली खोलालगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ ।
नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले बाढी खतराको संकेतनजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै जिल्ला प्रसासन कार्यालय बझाङले नदीको बहाब बढेकाले काठ उतार्न, माछा मार्न, नदी तथा खोलानजिक नजान आग्रह गरेको छ । प्रशासनले नदी, खोलानजिक गएर दाउरा, बालुवा, गिट्टी, संकलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी कामबाहेक एक्लै हिड्ने काम नगरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्लाका ३९५ स्थान बाढी तथा पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । जयपृथ्वी नगरपालिकाका ११६, बुंगल नगरपालिकाका ५१, साइपाल गाउँपालिकाका ११, तल्कोट गाउँपालिकाका २५, मष्टा गाउँपालिकाका ५१, सुर्मा गाउँपालिकाका १३, छविसपाथिभेरा गाउँपालिकाका २२, दुर्गाथलि गाउँपालिकाका १३, खप्तडछान्ना गाउँपालिकाका २०, थलारा गाउँपालिकाका १०, केदारस्युँ गाउँपालिकाका ३४, वित्थडचिर गाउँपालिकाका २९ स्थान जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए ।