news-details
राजनीति

Share this post!

कांग्रेसलाई गण्डकीमा सरकार चलाउन सकस हुने संकेत, अर्थ मन्त्रालयमा तीनवटै दलको दाबी 

कास्की  ।  मुख्यमन्त्रीले विश्वासको मत लिएको चार दिन पुुग्नै लाग्दा समेत गण्डकी प्रदेश सरकारमा सरकार विस्तार हुन सकिरहेको छैन् । जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएपछि कृष्णचन्द्र नेपालीले ४ जनालाई बिनाविभागीय मन्त्री बनाएर शपथ लिएका थिए । मुख्यमन्त्री बनेको दिनमै मन्त्रिपरिषद् विस्तार गरेका नेपालीले पूर्णता दिन सकेका छैनन् । बिनाविभागीय मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)  नियुक्त भएका थिए । भागबन्डा नमिलेकै कारण उनीहरूलाई अहिलेसम्म मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । मन्त्रीका आकांक्षी बढी हुनु र कुन मन्त्रालय कसले लिने भन्ने नै प्रमुख समस्या देखिएको छ ।

शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने दिन पनि दलबीच सहमति नजुटेका कारण प्रदेशसभा बैठक १ घण्टापछि धकेलिएको थियो । ११ बजे सुरु हुने भनिएको बैठकमा सांसद सबै उपस्थित थिए तर मुख्यमन्त्री, मन्त्री र दलका नेताहरू छलफलमै जुटेका थिए । त्यसैबीचमा मुख्यमन्त्री नेपालीले जनता समाजवादी पार्टीका मन्त्री आचार्यसँग लिखित सहमति गरेको पत्र बाहिरिएको थियो । सरकार गठनमा सहमति जनाएका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र सांसदबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न सकेको छैन । कसले कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति नजुटेकाले मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको स्रोतको भनाई छ । मुख्यमन्त्री कार्यालयपछि ठूलो भनिएको अर्थ मन्त्रालयमा तीनवटै दलको दाबी छ । प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नहुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । राजनीतिक दलबीच विवाद चुलिँदै गएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । सुरुवात नै यस्तो संकेत देखिएपछि सरकारको आयु कति दिन भन्ने प्रश्न उब्जीएको छ ।