news-details
समाचार

Share this post!

भद्रगोल प्रदेश २ सरकारः नयाँ मन्त्रीलाई कार्यालय र कर्मचारी छैनन् 

जनकपुर ।  शपथ लिएको १२ दिन भएपनि प्रदेश नम्बर २ का नयाँ मन्त्रीहरुले कार्यालय, सचिव र अन्य कर्मचारी पाउन सकेका छैनन् । जनशक्ति अभाव र सचिवको सरुवाले काम गर्न नसकेको भन्दै संघीय सरकारविरुद्ध बारम्बार खनिने मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय विभाजन गरी मन्त्री नियुक्त गरे पनि मन्त्रालय भवन, कर्मचारी व्यवस्थापन गर्न सकेका छैनन् । यसले गर्दा नवनियुक्त मन्त्री झन्डावाला गाडीमै सीमित भएका छन् । नयाँ मन्त्रालयको सचिव संघीय सरकारले पठाउने भएकाले टुंगो नलागेको र साबिकको महाशाखालाई मन्त्रालयको कामकाजको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भुसालले बताए । उनका अनुसार मन्त्रीको निवासका लागि बाहिर घर खोजी भइरहेको छ ।

नवनियुक्त महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह र भौतिक पूर्वाधार विकास, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । कांग्रेस नेतृत्वलाई आर्थिक प्रलोभनमा पारेर मन्त्री पद पाएको आरोप लागेका उनीहरूले हतार–हतार अँध्यारैमा मोबाइल बालेर शपथ लिएका थिए । शपथलगत्तै पदभार ग्रहण गरेका मन्त्री सिंहको प्रदेश २ को प्रशासनिक केन्द्र ‘मधेस भवन’मा न मन्त्रालय छ न त कर्मचारी । त्यहाँ उनको मन्त्रालयको बोर्डसम्म राखिएको छैन । उनले सामाजिक विकास राज्यमन्त्रीको निजी सचिवालयमा कार्यभार ग्रहण गरेका थिए । त्यहीँको एउटा कोठामा सिंहको नाम लेखिएको प्लेटसँगै मन्त्रालयको नाम कागजमा प्रिन्ट गरेर टाँसिएको छ । सामाजिक विकास मन्त्रालय टुक्य्राएर महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो । तर मन्त्रालय फुटाइएसँगै अधिकार सीमित भएपछि कर्मचारी नयाँ मन्त्रालयमा आउन चाहेका छैनन् ।