news-details
अन्तरास्ट्रिय

Share this post!

नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै गरे डिभोर्स

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको छ ।घरमा दिनदिनै हुने ठाकठुकलाई साम्य पारेर सम्बन्ध सुधार गर्नका लागि १२३ दिनसम्म आफूले आफैँलाई हतकडी लगाएका एक दम्पत्तिको अन्ततः डिभोर्स भएको छ ३३ वर्षका अलेक्जेन्डर कुडले र २८ वर्षकी भिक्टोरिया पुस्तोभिटोभाले गत भ्यालेन्टाइन डे बाट एक अर्कासँग छुट्टिनै नमिल्ने गरी दुईजनाको हातमा एउटा हतकडी लगाएका थिए । हरपल सँगै जोडिएर बस्दा एकले अर्कोलाई बुझ्ने, माया बढ्ने र झगडा कम भएर दाम्पत्य सम्बन्ध दीगो हुने उनीहरुको अपेक्षा थियो । तर सोचेजस्तो भएन । अन्ततः उनीहरुले युक्रेनको राष्ट्रिय टेलिभिजनमा प्रसारित एक कार्यक्रमबाटै १२३ दिनसम्म बाँधेको हतकडी फुकाउँदै आफूहरुको सम्बन्ध विच्छेदको घोषणा गरे ।
साथै सम्बन्ध सुधार्ने भनेर दुई जनालाई सँगै साङ्लोमा बाँध्ने उक्त प्रयोगले उल्टै असहज सत्यको उजागर गरेको उनीहरुको भनाइ छ ।युक्रेनको पूर्वी सहर खार्किवमा बस्ने उनीहरुले आफूहरुको उतारचढावपूर्ण सम्बन्धलाई जोगाउन अन्तिम प्रयास स्वरुप हतकडीमा बाँधेका थिए तर हतकडीले पनि उनीहरुको ‘ब्रेकअप’ रोक्न सकेन ।आफूहरुको १२३ दिनको हतकडी अनुभवलाई उनीहरुले व्यापकरुपमा सोसल मिडियामा सेयर गरिरहेका थिए । हतकडीमा बाँधिएका उनीहरुले यसबीचमा पसल जानेदेखि चुरोट पिउनेसम्म अनि बाथरुम जानेदेखि नुहाउने सम्मका सबै कामहरु सँगै गरे ।अन्तिम प्रयास पनि असफल भएर राजीखुसीले डिभोर्स गर्ने निर्णयमा पुगेको उक्त जोडी डिभोर्सबाट खुसीचाहिँ देखिएन । आफूहरुको ‘ब्रेकअप’को कुरा गर्दा पुस्तोभितोभाले बरर्र आँसु चुहाइन् । उनले रोयटर्ससँग भन्छिन् – मलाई लाग्छ यो हाम्रो लागि राम्रो शिक्षा हो । साथै युक्रेन र संसारका जुनसुकै ठाउँमा रहेका दम्पत्तिहरुले पनि हामीले जे गर्‍यौं त्यो नगर्नका लागि शिक्षा हो ।१२३ दिनसम्म पार्टनरसँगै हतकडीमा बाँधिएर रहनुपर्दा आफूले आफ्नो व्यक्तिगत जीवन सबैभन्दा धेरै मिस गरेको र त्यसरी सँगै बस्दासमेत आफूलाई आफ्नो पार्टनरले खासै ध्यान नदिएको उनको गुनासो छ ।पेसाले ब्युटिसियन रहेकी २९ वर्षीया पुस्तोभिटोभा भन्छिन्( हामी दिनरात सँगै रह्यौँ । तर अलेक्जेन्डरले मलाई कुनै वास्ता नै गरेन । मैले ऊबाट ‘आई मिस यू’ भन्ने बोली सुन्न चाहन्थेँ । तर उसले कहिल्यै भनेन ।अलेक्जेन्डरचाहिँ सम्बन्ध जोगाउनका लागि गरिएको हतकडी प्रयोगप्रति आफूलाई कुनै पश्चाताप नरहेको भन्दै उक्त प्रयोगले आफूहरु एउटै सोचाइ भएको मिल्दो जोडी नरहेको कुरा बुझ्न सहयोग पुगेको बताउँछन् ।३३ वर्षका अलेक्जेन्डर भन्छन्- हामीहरु बराबर वेभलेन्थ भएका रहेनछौँ । हामीहरु नितान्त रुपमा फरक रहेछौँ ।आफूहरु १२३ दिनसम्म सँगै बाँधिएर बसेको हतकडी अनलाइनमा लिलाम बिक्री गर्ने उनीहरुको योजना छ । त्यसबाट प्राप्त रकमलाई उनीहरुले च्यारिटीमा दान गर्न चाहन्छन् ।युक्रेनको राष्ट्रिय टेलिभिजनमा उनीहरुको हतकडी खोलेर डिभोर्सको घोषणा भएको दृश्य प्रसारित भैरहँदा युक्रेनको राष्ट्रिय कीर्तिमान पुस्तिकाका अधिकारीहरु पनि उपस्थित थिए । उनीहरु सायद यसरी लामो समयसम्म आफूलाई हतकडीमा सँगै बाँध्ने विधामा विश्व कीर्तिमानी जोडी हुन सक्दछन् ।