news-details
अन्तरास्ट्रिय

Share this post!

कोरोना खोप लगाउनेलाई वर्षभरी सित्तैमा मासु

वर्षैभरी सित्तैमा मज्जाले मासु खान चाहनुहुन्छ ? यदि त्यसो हो भने कोभिड १९ को खोप लगाउनुहोस् ।कोरोना खोप लगाउन नपाएर तड्पिरहेको बेला खोप पनि लगाउने र सित्तैमा मासु पनि खान पाइने खबरले पुलकित हुनुभयो होला । तर मख्ख नपर्नुस् किन कि यो नेपालको खबर होइन ।वास्तवमा अमेरिकास्थित एक कम्पनीले कोरोना खोप लगाउनका लागि मानिसहरुलाई प्रोत्साहित गर्न यस्तो अफर ल्याएको हो ।मासु प्रोसेसिङ गर्ने ब्राजिलियन बहुराष्ट्रिय कम्पनी जेबीएस एसएको अमेरिकास्थित शाखाले बिहीबार यस्तो घोषणा गरेको हो ।कम्पनीले प्रायोजन गरेका अमेरिकामा रहेका विभिन्न भ्याक्सिनेसन क्लिनिकहरुमा गएर आगामी हप्ताहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरुमध्ये ५० अमेरिकी परिवारले आगामी वर्षभर सित्तैमा मासु पाउनेछन् । कम्पनीले ती परिवारलाई एक वर्षका लागि निस्शुल्क रुपमा सुँगुगर, कुखुरा तथा गाईको मासु उपलब्ध गराउने जनाएको छ ।स्मरण रहोस् गत वर्ष उक्त कम्पनीमा मासु प्याक गर्ने हजारौँ कामदारहरुमा कोरोना भाइरसको संक्रमणदर उच्च देखिएपछि संक्रमण रोक्न केही समयका लागि कारखाना नै बन्द गर्नु परेको थियो । त्यसले अमेरिकामा मासु आपूर्तिमा असहजता आउनुका साथै मासुको मूल्यवृद्धि पनि भएको थियो ।हाल कम्पनीका अमेरिकास्थित ६६ हजार कर्मचारीमध्ये ७० प्रतिशतले पूर्ण खोप प्राप्त गरिसकेको बताइएको छ ।खोप लगाउनेहरुलाई सित्तैमा मासु उपलब्ध गराउने अफरले अमेरिकाका विभिन्न ग्रामीण इलकाहरुमा समेत खोपप्रति सचेतना जगाउने र मानिसहरुलाई कोरोना खोप लगाउनका लागि उत्प्रेरित गर्ने विश्वास कम्पनीको छ ।कम्पनीले आगमी शनिबारदेखि कोलोराडोस्थित ग्रीलीमा आफ्नो पहिलो कोरोना खोप क्लिनिक सुरुवात गर्नेछ । उक्त क्षेत्रमा जेबिएस कम्पनीको एउटा ठूलो गौमांस कारखाना पनि छ । गतवर्ष उक्त कारखानाका झण्डै ३ सय कामदार कोरोना संक्रमित भएर ६ जनाको मृत्यु भएको थियो ।स्मरण रहोस् विश्वका कतिपय देशहरुमा जनताहरु खोपका लागि तड्पिरहेको बेला कतिपय देशहरुमा भने जनताले खोप लगाउने इच्छा नगर्नाले खोप खेर जाने अवस्था छ । यस्तोमा विभिन्न मुलुकहरुले खोप लगाएबापत नगद पुरस्कार देखि कुखुरा, गाई, अण्डा तथा गाँजासम्म पुरस्कार दिने अभियानहरु चलाउनु परेको छ।