news-details
समाचार

Share this post!

पर्सामा ४० किलो गाँजासहित दुईजना पक्राउ

पर्सा । जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका(५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् । मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

मंगलबार बिहान १ बजे पटेर्वासुगौली(२ मकवानी चौरीमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले नियन्त्रणमा लिएर सोधपुछ तथा चेकजाँच गरेको थियो । उनीहरुले पिठ्यूँमा बोकी ल्याएको ३ वटा बोराभित्र लागु औषध गाँजा ४० किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । गाँजासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।