news-details
समाज

Share this post!

कमलविनायबाट महिलाहरुलाई यौनाङ्ग देखाउने युवक पक्राउ 

भक्तपुर । प्रहरीले सार्वजनिक स्थानमा महिलाहरुलाई अभद्र व्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । कमलविनायक भत्केको पाटीबाट बर्ष ३६ को चमार सिं तामाङलाई प्रहरी पक्राउ गरेको हो । तामाङ रामेछाप सुनापती गाँउपालिका वडा नं. ५ रुपाकोट स्थायी घर भई भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बस्दै आएका थिए । उनले कमलबिनायक, आदर्श चोक लगायतका सार्वजनिक स्थानको भित्री सडक खण्डको एकान्त स्थानमा हिडडुल गरिरहेको महिलाहरुलाई अभद्र व्यवहार गरेको उजुरी प्रहरीमा परेको थियो । 

पीडित महिलाहरुका अनुसार मोटरसाईकलमा चढेर आएको ब्यक्तिले चिमोट्ने, धाप मार्ने, संबेदनशिल अंगमा समाउने, जिस्काउने, हैरानी दिने महिलालाई एकान्त ठाँउमा आफ्नो यौनाङ्ग देखाउने लगायतका कार्यहरु गर्दथ्यो । महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा पीडित महिलाहरुले मिति २०७८/०१/११ गते, २०७८/०१/१२ गते, २०७८/०१/१५ गते, २०७८/०२/१० गते, २०७८/०३/०१ गते र २०७८/०३/१० गते यस्ता क्रियाकलापहरु गरेको भनी हुलिया सहितको निवेदन दिएका थिए । सोही हुलियाको आधारमा कसुरदार ब्यक्ति खोजतलास गर्न महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी अधिकृत सहितको टोली शंकित ठाँउमा परिचालन गर्दै खोजतलास गर्ने क्रममा असार १५ गते उसलाई पक्राउ गरेको हो । 

१५ गते भत्केको पाटीमा उक्त हुलियासंग मिल्ने तामाङलाई फेला कानून बमोजिम नियन्त्रणमा लिईसकेपछि अन्य पीडित महिलाहरुबाट पनि जाहेरी दरखास्त आउने क्रम जारी रहेको डीएसपी दिपक गिरीले जानकारी दिएका छन् । तामाङलाई महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखेर  थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।