news-details
समाचार

Share this post!

सप्तरीका ५ सय घर डुबानमा

राजविराज — लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सय भन्दा बढी घरमा डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सय भन्दा बढी घर डुबानमा परेको छ । उक्त नगरपालिकाको ९, १०, ११ र १२ नम्बर वडाका करिब ३ सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार बिहान ९ बजे कोसी ब्यारेज भएर २ लाख २२ हजार ७ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । ब्यारेजका २९ वटा ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बचाब उच्च हुँदै गएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको बस्ती हो ।

गोबरगाढाका वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार बस्तीमा अहिले महिला,बालबालिका समेत गरि ५ सय जना छन् । कोसीमा पानी बढेसँगै आफूहरु असुरक्षित भएको वडाध्यक्ष यादवले बताए । तरपनि त्यहाँका स्थानीयले अझै घर छोड्न मानेका छैनन् । हरेक वर्ष वर्षातमा गोबरगाढामा सप्तकोसीको पानी पस्ने गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाले कोसीको मध्य भागमा रहेको उक्त बस्ती स्थानान्तरण गर्ने योजना ल्याएपनि स्थानीयले अस्वीकार गर्दे आएका छन् ।अहिले कोसीमा पानी बढेपछि महिला र बालबालिकालाई सुरक्षित रुपमा हनुमाननगर ल्याउन प्रयास गरेपनि स्थानीयले नमानेको नगरप्रमुख साहले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गोबरगाढा अहिलेसम्म सुरक्षित रहेको र खतराको अवस्था आए स्थानीयलाई उद्धार गर्ने बताए ।