जुम्ला । सिंजा गाउँपालिका-६ का नवीन बुढाले जातीय विभेदजन्य गालीगलौज गरी विवेन्द्र नेपालीमाथि कुटपिट गरेका छन् । नवीन सोही वडाका वडाध्यक्ष कालीबहादुर बुढाका छोरा हुन् । बाबु कालीबहादुरले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताबारे टिप्पणी गरेको भन्दै नेपालीमाथि उनका छोरा नवीनले कुटपिट गरेका हुन् ।नवीनले छलफलका लागि भन्दै वडा कार्यालयमा बोलाएर आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरी कुटपिट गरेको नेपालीले बताए । नेपालीले वडाध्यक्ष बुढाले समेत आफूलाई होच्याएर बोलेको उनको आरोप छ । ''छलफलका लागि भन्दै मलाई वडा कार्यालय बोलाएपछि म गएँ । वडाध्यक्षकै कार्यकक्षमा नवीनले तँ ‘डुम’ हलुवा बेची खाने तँलाई डुम नभनी के राजा भन्ने ? भन्दै गाली गर्दै हातपात गर्नुभयो,'' नेपालीले भने । आफूमाथि ८ असारमा कुटपिट भएको र मेलमिलाप गर्ने भन्दै स्थानीयले उजुरी नदिन दबाब दिएको नेपालीले बताए । उजुरी दिन जिल्ला प्रहरी कार्यालय जुम्लामा पुगे पनि प्रहरीले उजुरी लिन नमानेको उनले बताए । प्रहरीले उजुरी लिन नमानेपछि आफूले राष्ट्रिय दलित आयोगमा निवेदन दिएको नेपालीले बताए ।
घटनाबारे वडा अध्यक्षसँग कुरा गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी दान थापाले भने नेपालीले भने जस्तो प्रहरीले उजुरी लिन नमानेको कुरा सत्य नभएको बताए । ‘उहाँ आफूमाथि गालीगलौजसहित कुटपिट भयो भनेर आउनु भएको हो । हामीले कुटपिट भएको हो भने उपचार प्राथमिकतामा राखौं र घटनाबारे सत्यतथ्य बुझ्छौँ भनेका हौँ,’ डीएसपी थापाले भने ।