सोलुखुम्बु । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ । साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नुहँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन् । बैशाख शुरु हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताए । सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको सडक मर्मत गर्ने गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी योजना सञ्चालन गरेको भए पनि गुणस्तरीय नभएको यात्रुको दावी छ । कार्यालयका अनुसार ओखलढुङ्गाको हर्कपुरदेखि सोलुखुम्बुको फाप्लुसम्मको सडक मर्मतको कार्य अहिले ६० प्रतिशत सकिएको छ । यद्यपि असारमा बजेट सिध्याउने बहानामा गुणस्तरीय काम नभएको चालक तथा यात्रुको भनाइ छ ।
बर्खाको समयमा बजेट खर्च गर्नकै लागि निर्माण गरेको जस्तो देखिने विकास निर्माणमा अनुगमन फितलो हुनु र ठेकेदार कम्पनीले समेत गुणस्तरीयतामा ध्यान दिनुपर्ने दायित्व नबुझ्दा समस्या हुनेगरेको सोलु दुधकुण्ड नगरपालिका–४ का फुरी लामाको भनाइ छ । सडक मर्मत कार्य सम्पन नभई भत्किनुले समग्र जिल्लामा हुने विकासको गुणस्तरीयतामा प्रश्न गर्ने प्रशस्त आधार खडा भएको स्थानीयवासीको भनाइ छ ।नगरपालिकाका जनप्रतिनिधिदेखि जिल्लाका उच्च ओहोदाका अधिकारीले दैनिकरूपमा अनुगमन गर्न सक्ने भए पनि त्यो नहुनु र निर्माण कम्पनीले योजना सम्पन्न गर्नेतर्फ मात्र ध्यान दिँदा मर्मत गरिएको सडक भत्किएको थुलुङ दुधकोशी गाउँपालिका–५ का तेजबहादुर बस्नेतले बताए ।पाँच करोड ९६ लाखको लागतमा गत वैशाखबाट साल्मे–फाप्लु खण्डमा मर्मतको काम भइरहेको छ । महालक्ष्मी भुजेल जेभीले कालोपत्रे सडक टालटुल गर्ने, ड्रेन, कज वे र पर्खाल निर्माण तथा मर्मतलगायतको कामको जिम्मा लिएको छ ।