news-details
समाचार

Share this post!

सृजना बस्नेतको  हत्या भएको आशंका

झापा । हिजो बिहान घर अगाडि अर्धनग्न अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या भएको आशंका गरिएको छ । घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सृजनाको शव घर बाहिर फेला पर्नुले उनको हत्या गरिएको आशंका गरिएको हो । आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सृजना सोमबार बिहान घर अगाडि मृत अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सृजना चौथो तलामा सुत्ने गरेको उनको भनाइ छ । बहिनीको शव घर बाहिर फेला परेपनि घरको सबै गेटहरू भित्रबाट बन्द भएकाले बहिनीको हत्या भएको हुन सक्ने रमेशले बताए । शवको पछाडीको भाग तथा टाउकोमा चोट र घटनास्थलमा रगतको दाग देखिएको प्रत्यक्षदर्शीहरुले बताए । 


प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गर्न भन्दै धरानबाट ‘ट्रयाकर डग’ झिकाएको थियो । उक्त कुकुर मृतक बस्ने घरको तेस्रो तलाको बरण्डासम्म पुगेर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । उनका अनुसार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टरको समुहले घटनास्थलमा शवको बाहिरी परीक्षण गरेको थियो । पोस्टमार्टमका लागि शव धरान पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । हालसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए । प्रहरीले प्रारम्भिक कुनै जानकारीसम्म नदिएको भन्दै मृतकका आफन्त तथा स्थानीयले शव उठाउन अवरोध गरेपछि केहि समय घटनास्थलमा तनाव सिर्जना भएको थियो । प्रहरीले घटनास्थलमा ढुङ्गा हान्ने केही युवालाई पक्राउ गरेको जनाएको छ । प्रवक्ता थापाका अनुसार घटनाको इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ । इलामको साखेजुङ्ग मुल घर भएकी मृतक बस्नेत आफ्नी आमा तथा दाजुको परिवारसँग केही बर्षदेखि बिर्तामोड ५ स्थित सानिमाको घरमा भाडामा बस्दै आएकी थिइन् । उक्त घरमा प्रायः पारिवारिक नाता पर्ने मानिसहरु नै बस्ने गरेको प्रहरीको भनाइ छ ।