news-details
अर्थतन्त्र

Share this post!

चाँगुनारायणमा ''मेयर उद्यमशिल कार्यक्रम'' सुरु, उद्यमीलाई ऋण दिइयो 

भक्तपुर । चाँगुनारायण नगरपालिकको सुरु गरेको मेयर उद्यमशिल विकास कार्यक्रमको शुभारम्भ भएको छ । मंगलबार नगरपालिकाले नेपाल बैंक लिमिटेड कमलविनायक शाखासँगको समन्वयमा हाइट हाउस खाजाघरका सञ्चालक राधाकृष्ण घिमिरेलाई मंगलवार तीन लाख नगद उपलब्ध गराउँदैं सो कार्यक्रमको शुभारम्भ गरेको हो । चाँगुनारायणले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निव्र्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सोही अनुसार पहिलो लाभग्राहीको रुपमा खाजाघरका सञ्चालक घिमिरेसँग सम्झौता भई कार्यान्वयनको शुभारम्भ गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । सम्झौता अनुसार लाभग्राहीले पाँच वर्षमा उक्त रकम चुक्ता गर्नुपर्ने छ । समयावधीभित्र ऋण चुक्ता नगर्ने वा ऋणको दुरुपयोग गरेको खण्डमा नगरपालिकाले कालो सुचीमा समावेश गरी नगरका अन्य सेवा सुविधामा रोक लगाईने र बैंकले पनि प्रचलित ऐन नियमानुसार कारवाही गर्ने प्रावधान राखिएको नगरप्रमुख मिश्रले बताए । 

नगरपालिकाले महिला उद्यम, दलित र पिछिडिएका वर्ग, वैदेशिक रोजगार, युवा स्वरोजगार र कृषि गरी पाँच वटा क्षेत्रमा उद्यमी बन्न चाहनेहरुलाई छनोट गरेको थियो । 
सो कार्यक्रमकालागि नेपाल बैंकले उद्यमीलाई ७ दशमलव ९८ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने छ । व्याज मध्ये ऋणको विषयवस्तु अनुसार ५ वा ६ प्रतिशत नेपाल सरकार र राष्ट्र बैंकको अनुदानबाट व्यहोर्ने र बढीमा २ दशमलव ९८ प्रतिशत नगरपालिकाले व्यहोर्ने गरी कार्यविधि तयार गरिएको  बैंकका शाखा प्रबन्धक विष्णुमान भैलले जानकारी दिए । 

चालु आर्थिक वर्ष २६२ जना यो कार्यक्रमको लागि छनोट भएका छन । कार्यक्रमका लागि आवेदन दिने १ हजार १२१ जनाले निवेदन दिएका थिए । ती मध्ये मनोविज्ञको टोलीले विभिन्न ३६ वटा प्रश्नको सहायताले ३९० जनालाई उद्यमशिलता तालिमका लागि छनोट छन् ।  तालिममा सहभागी मध्ये २९२ जनालाई छनोट गरी नगरपालिकाले ऋण प्रक्रियाकोलागि नामावली नेपाल बैंकमा पठाएको थियो ।