news-details
समाचार

Share this post!

मनाङका जनतालाई सकस, दैनिकी चलाउनै समस्या

मनाङ,  देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ । जिल्लामात्र नभई मनाङ भित्रैका गाउँ पनि एकअर्कासँग आवतजावत हुन सकेको छैन । बाढीपहिराका कारण सडक मात्र नभई मनाङमा विद्युत् र खानेपानीको सेवा पनि ठप्प छ । सदरमुकाम चामेमा नै समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ । बाढीपहिराले क्षति गर्दा कतिपय गाउँ अझै पनि विद्युत् र सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन् । सबै क्षेत्रमा क्षति भोगेको हिमाली जिल्ला मनाङले निकै नै सकस तथा जोखिमपूर्ण अवस्था बेहोर्न बाध्य भएको छ । मर्स्याङ्दी नदीमा बाढीको सतह केही कम भएपछि पनि धेरै जोखिम र सकस भोग्दै आएको छ । स्थानीयवासीका अनुसार सडक सञ्जाल विच्छेदले सबैभन्दा बढी सकस बनाएको छ । सडक सञ्जालको नामोनिसान मेटिएपछि जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तु पु¥याउन नसक्दा अभाव सिर्जना भएको छ ।