news-details
अर्थतन्त्र

Share this post!

पोखरामा पर्यटकको चहलपहल बढ्न थाल्यो 

कास्की । कोरोना संक्रमण दर केही कम भए संगै पर्यटकीय गन्तव्य पोखराको फेवातालमा डुङ्गाहरू पुनः चल्न थालेका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत १४ वैशाखदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुसी भएका छन् । निषेधाज्ञाका कारण घरमै बसेका उनीहरूमा पुनःव्यवसाय सुरु भएपछि उत्साह छाएको हो । फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय सुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए । 

भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए । यसअघि आठरनौ जनासम्म राख्ने गरिएको थियो । उनले भने, यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुङ्गा मात्र सञ्चालमा छन्, फेवातालमा डुङ्गा सुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ । तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ । डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ । फेवातालमा ७६४ डुङ्गा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहँदा पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।