news-details
स्वास्थ्य

Share this post!

'स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस्'

काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सम्पूर्ण लगानीबाट तत्काल अलग भएर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका आफ्ना लगानीबाट अलग नहुने हो भने तत्काल उनलाई पदमुक्त गर्न माग गरेका छन् ।

उनले खबरदारीपत्रमा सरकारका सुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकहरुलाई पहिलो गाँसमै ढुङ्गा लागेको अवस्था भएको पनि उल्लेख गरेका छन् । ‘स्वास्थ्यजस्तो समवेदनशील विषयमा नियमनकारी भूमिका समेत रहने स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्ति हुनु हुँदैन,’ पत्रमा उनले भनेका छन् । डा केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै माग पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प नरहेको भन्दै त्यसका लागि जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्न पनि माग गरेका छन् ।उनले विभिन्न ६ बुँदे माग राख्दै ती माग पूरा नभएमा सत्याग्रहसहित जस्तोसूकै आन्दोलनका कार्यक्रम ल्याउन तयार रहेको चेतावनीसमेत दिएका छन् ।