news-details
राजनीति

Share this post!

एकताका लागि लचक छुः अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली बुधबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरबार पुगे ।सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि उनी पहिलो पटक संसदीय दलको कार्यालय पुगेका हुन् । लामो समयपछि संसदीय दलको कार्यालय सिंहदरबार गएका अध्यक्ष ओलीले सांसद र पार्टी नेताहरुसँग धेरैबेर कुराकानी गरे ।

कुराकानीका क्रममा अध्यक्ष ओलीले पार्टीका केही नेताले अनुशासनको दायरा नाघेर जाने काम भएपनि एकताको लागि लचिलो भएको बताए । ‘माधव नेपाल निकै पर पुगिसक्नुभएको अवस्था छ । तर त्यस्तो बाटो रोज्नु हुन्न’, अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एक नेताले भने ।माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश १ का नेताहरुसँग लामै कुराकानी गरेका अध्यक्ष ओली त्यसपछि सांसदहरुसँग छलफलमा बसेका थिए । ‘उहाँ (केपी ओली) ले पार्टी एकताकै निम्ति लचक बनेको बताउनुभयो’, भेटवार्ता पछि एक सांसदले भने, ‘विभाजनतिर लाग्ने हो भने त शेरबहादुर देउवालाई विश्वासको मत दिएकै दिन फरक निर्णय हुनसक्थ्यो भन्नुभयो ।’

सांसदहरुसँग कुराकानी सकेर अध्यक्ष ओलीले संसदको काम कारबाहीबारे प्रमुख सचेतक विशाल भट्टराईसँग छलफल गरेका थिए । दिउँसो दुई बजे सिंहदरबार पुगेका अध्यक्ष ओली साढे चार बजे सिंहदरबारबाट फर्किएका थिए ।