news-details
राजनीति

Share this post!

 'कारबाही फिर्ता गरिपाउँ, एमालेको सदस्यता लिएको छैन' 

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निष्कासनमा परेका नेता टोपबहादुर रायमाझी आफूले पार्टी नछाडेको भन्दै सांसद पदमा पुनर्बहाली माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । २०७७ पुसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा सहभागी भएका रायमाझीलाई नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

तर सांसद पद गुमाएको करिब तीन महिनापछि सर्वोच्च अदालत पुगेका उनले आफूले नेकपा माओवादी केन्द्र नछाडेको जिकिर गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि रायमाझीसहितका नेताहरुले आफूहरु माओवादीमा नफर्कने बताएका थिए । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीतसमेत गरेका थिए । नेता रायमाझीले आफू एमालेको केन्द्रीय कार्यसमितिमा नरहेको बताए । उनले आफूले दल परिवर्तन नगरेको जिकिर गर्दै माओवादी केन्द्रले झुटो आरोप लगाएर कारबाही गरेको दावी गरेका छन् ।

उनले आफूलाई सफाइको मौका नदिई कारबाही गरिएको भन्दै सांसद पदमा पुनर्बहाली र पार्टी सदस्य कायम राख्न माग गरेका छन् ।