news-details
अन्तरास्ट्रिय

Share this post!

एक बाल्टिनका लागि दुई देशबीच घमासान लडाइँ

विश्वको इतिहासमा विभिन्न खतरनाक युद्धहरु हुँदै आएका छन् जसमा ठूलो धनजनको क्षति पनि हुने गरेको छ । प्राचीन इतिहासमा राज्य विस्तार तथा सत्ता कब्जालगायतका मनसायबाट विभिन्न राज्यहरुबीच युद्ध हुने गरेको इतिहास छ । तर आजभन्दा ७०० वर्ष अगाडि एउटा यस्तो युद्ध भयो जसको कारण केवल एउटा बाल्टिन मात्र थियो ।उक्त घटना सन् १३२५ को हो । त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो । त्यहाँका दुई राज्यहरु बोलोग्ना र मोडेनाबीच प्रायः युद्ध तथा तनाव भैरहन्थ्यो । बोलोग्नालाई इसाइ धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन सम्राटको समर्थन थियो । बोलोग्नाका मानिसहरु पोप नै इसाइ धर्मका सच्चा गुरु भएको मान्थे भने मोडेनाका जनताहरु रोमन सम्राटलाई असली धर्मगुरु ठान्दथे ।बोलोग्ना र मोडेनाबीच त्यसअघि सन् १२९६ मा पनि युद्ध भएको थियो । उक्त युद्धपश्चात् दुई राज्यबीच तनाव जारी थियो । इतिहासकारहरुका अनुसार रिनाल्डो बोनाकोल्सीको शासनकालमा मोडेना निकै आक्रामक बनेको थियो र बोलोग्नामाथि आक्रमण गरिरहन्थ्यो । दुई देशबीचको उक्त तनाव एउटा अनौठो घटनाले पुनः भयानक युद्धमा बदलिदियो । सन् १३२५ मा एकदिन जब मोडेनाका केही सैनिक एक्कासी बोलोग्नाको किल्लामा घुसेर त्यहाँ रहेको एउटा काठको बाल्टिन चोरेर लगेको घटनाले दुई राज्यबीच युद्ध सुरु भयो ।वास्तवमा त्यो काठको बाल्टिन हिरा तथा अन्य मूल्यवान रत्नहरुले भरिएको थियो । बहुमूल्य पत्थरहरुले भरिएको बाल्टिन चोरी भएको थाहा पाएसँगै बोलोग्नाका सेनाले मोडेनासँग त्यो फिर्ता गर्न अनुरोध गर्यो । तर मोडेनाले भने बाल्टिन फिर्ता नगर्ने बतायो । त्यसपछि बोलोग्नाले मोडेनाविरुद्ध युद्धको घोषणा गर्‍यो ।बोलोग्नासँग त्यस समय ३२ हजार सैनिक थिए भने मोडेनासँग भने जम्मा ७ हजार । दुई देशबीच बिहानै युद्ध सुरु भएर रात अबेरसम्म चल्यो । सैनिकको संख्या कम हुनुका बाबजुत पनि उक्त युद्ध मोडेना राज्यले जित्यो । सो युद्धमा २ हजार भन्दा धेरै सैनिकको मृत्यु भएको थियो ।बोलोग्ना र मोडेनाबीच भएको उक्त युद्धलाई इतिहासमा वार अफ द बकेट (The War of the Bucket)तथा वार अफ द अकेन बकेट (The War of the Bucket)को नामले चिनिन्छ । दुई राज्यबीच भिषण युद्ध गराउने उक्त बाल्टिन हाल एक संग्राहलयमा सुरक्षितसाथ राखिएको छ । एजेन्सी