news-details
अन्तरास्ट्रिय

Share this post!

नातागोतालाई किन चामलका झोला पठाउँदैछन् जापानीहरू ?

कोरोना भाइरस महामारीका कारण धेरै मानिसहरू  आफ्ना आफन्त तथा प्रियजनहरूसँग जमघट र भेटघाटसमेत गर्न नपाउने अवस्था छ ।आफ्ना आफन्तका नवजात बच्चाहरू तथा बयोवृद्ध व्यक्तिहरूसँग भेट गर्नका लागि समेत कोरोनाले निकै असहज बनाइदिएको छ । यस्तोमा नवजात बच्चाले आफ्ना सबै आफन्त देख्नै नपाइकनै हुर्किने अवस्थाको सिर्जना भैरहेको छ । यो अवस्था विकसित मुलुक जापानमा पनि रहेछ । तर जापानीहरू चाहिँ कोरोनाको कारण नवजात शिशुलाई हेर्न आउन नपाएका आफ्ना आफन्तहरूको न्याश्रो मेटाइदिनका लागि अनौठो उपाय अपनाउन थालेका छन् ।नयाँ बच्चा जन्माएका जापानी अभिभावकहरूले आफ्ना आफन्तलाई चामल भरिएको झोला उपहार पठाइदिने गरेका छन् ।ठ्याक्कै बच्चा आकारको उक्त चामलको झोलालाई जापानी भाषामा दाकिगोकोची भनिन्छ । उक्त बच्चा आकारको चामल भरिएको झोलामा बाहिर बच्चाकै जस्तो कपडा लगाइएको हुन्छ । त्यसको अनुहार तथा शरीर पनि बच्चाकै जस्तो बनाइएको हुन्छ र तौल पनि नवजात शिशुको जत्तिकै बनाइएको छ ।आफ्नोमा जन्मिएको बच्चासँग भेट गर्न आउन नपाएका आफन्तकहाँ यस्तो बच्चाकै आकारको झोला पठाएपछि आफन्तहरूले बच्चाको न्याश्रो मेट्न पाउन् र त्यो झोलालाई अँगालो हालेर बच्चाकै आनन्द लिन सकुन् भनेर जापानी अभिभावकहरूले यस्तो काइदा अपनाएका हुन् ।सामाजिक दूरी तथा यात्रा प्रतिबन्धको नियममा कडाइसँगै पछिल्लो समय नयाँ बच्चा जन्मिने जापानी परिवारहरूले आफन्तलाई चामलको झोला उपहार पठाउने चलन निकै बढेको छ ।जापानको सबैभन्दा लोकप्रिय मध्येको एक चामल पसल योसिमियाले आफ्नो वेबसाइटमा भनेको छ – यो झोलाको सतह जापानी कागजबाट बनाइएको हुन्छ त्यसैले छुँदा पनि आनन्द आउँछ । साथै आकार पनि गोलो हुनुका साथै चामल भरिसकेपछि नरम र गद्दार हुन्छ । जसका कारण यसमा स्नेहकै अनुभव हुन्छ ।यद्यपि जापानमा दाकिगोकोची नयाँ चलन होइन । तर महामारीका कारण मानिसहरू विवाह तथा नवजात शिशु भेट्ने कार्यका लागि लामो यात्रा गर्न नपाउने भएसँगै यसको माग अत्यन्तै बढेको हो ।योसिमिया पसलका मालिक नारुओ ओनोका अनुसार १४ वर्ष अगाडि आफ्नो छोरा जन्मिएको बेलामा उनलाई सुरूमा त्यो आइडिया आएको रहेछ । आफ्नो बच्चालाई भेट्न आउन नपाएका टाढा टाढाका आफन्तलाई बच्चाको न्याश्रो मेटाउनका लागि उनले यस्तो चामलका बच्चारुपी झोला बनाएर पठाएका थिए । उक्त कार्यलाई उनको पसलमा आउने ग्राहकहरूले समेत मन पारेपछि उनले यस्ता झोला व्यवसायिक रुपमा उत्पादन गर्न थालेका हुन् ।विभिन्न रङ, ढाँचा तथा विभिन्न स्वरुपको प्रिन्टमा उपलब्ध दाकिगोकोचीको मूल्य प्रतिग्राम एक जापानकी येनको दरमा पर्दछ । अर्थात् साढे ३ किलोको झोलाको मूल्य ३५ सय येन पर्दछ ।