news-details
अन्तरास्ट्रिय

Share this post!

रहस्यमै हराएको अनौठो घटना : बिरालो मार्ने सिरियल किलर

मान्छेकै लगातार हत्या गर्ने सिरियल किलरहरुका बारेमा त तपाईंले धेरै सुन्नुभएको छ होला । तर के तपाईंले यस्तो हत्याराको बारेमा सुन्नुभएको छ जसले मान्छे होइन कुकुर, बिरालो, खरायोलगायतका घरपालुवा जनावरको हत्या गर्दथ्यो ?सुन्दैमा अनौठो लाग्ने यस्तो घटना केही वर्षअघि बेलायतमा भएको थियो । बेलायतका विभिन्न ठाउँमा घरपालुवा जनावरको हत्या गरिएका सनसनीपूर्ण खबर बाहिर आए । त्यसले देशव्यापी रुपमा तरंग मात्र ल्याएन घरमा साथी जनावर अर्थात् पेट्स पालेका घरधनीहरु त्रसित भए ।वास्तवमा एकजना सिरियल किलरमा यस्ता घरपालुवा जनावरहरुको हत्या गर्ने भूत चढेको थियो । उसले खरायोको बच्चादेखि उल्लूको बच्चासम्मको हत्या गर्‍यो तर ऊबाट मारिएका जनावरमध्ये सबैभन्दा धेरै बिरालो थिए ।उसले बेलायतका विभिन्न ठाउँमा गरी ४०० भन्दा धेरै बिरालो र अन्य कैयन् घरपालुवा जीवहरुको हत्या गरेर लासलाई समेत क्षतविक्षत बनाइदिएको थियो ।सन् २०१४ मा दक्षिण लण्डनको क्रायडन सहरबाट उसको हत्याको श्रृंखला सुरु भएको थियो । त्यसले सञ्चार माध्यमहरुले उक्त व्यक्तिलाई ‘क्रायडन क्याट सिरियल किलर’को उपमा दिएका थिए । साथै उसलाई एम २५ क्याट किलरको नामबाट पनि मानिसहरु चिन्दछन् । सुरुमा क्रायडनबाट सुरु भएको घरपालुवा जनावरको हत्याको श्रृंखला लण्डनका विभिन्न ठाउँमा फैलियो र अन्ततः उसले बेलायतभर नै यस्तो आतंक मच्चायो ।सो व्यक्तिले घरपालुवा जनावरलाई खानेकुरामा लोभ्याएर आफूसँग बोलाउने र धारिलो हतियारले प्रहार गरेर हत्या गर्ने गर्दथ्यो । त्यसपछि सबूत मेटाउनका लागि उसले जनावरको शवलाई क्षतविक्षत पार्दथ्यो ।उक्त अनौठो सिरियल किलरलाई पक्रिनका लागि सन् २०१५ को डिसेम्बरमा पुलिसले एक टिम गठन गरेर विशेष अपरेशन सञ्चालन गर्‍यो, जसको नाम ताकाहे राखियो ।हत्यारा पत्ता लगाउनका लागि हत्या गरिएका बिरालोहरुको पोष्टमार्टम पनि गरियो । सिरियल किलर पत्ता लगाउने उक्त अभियान निकै महँगो थियो किनकि केवल १० वटा बिरालोको पोष्टमार्टम गर्नमै ७ हजार ५०० पाउण्ड खर्च भएको थियो ।सन् २०१७ को अगष्ट देखि नोभेम्बरसम्म नर्थह्याम्पटनको आसपासमा पाँच वटा बिरालोको मृत्यु भएको घटनामा पनि सोही सिरियल किलरको हात रहेको पुलिसले अनुमान गर्‍यो । तर पछि अनुसन्धानबाट ती बिरालोको मृत्यु एक अर्कासँग सम्बन्धित नभएको ठहर गरियो । प्रहरीले उक्त घटनासँग सम्बन्धित रहेको भन्दै ३१ वर्षका एक व्यक्तिलाई पक्राउ गर्‍यो । तथापि सबूत प्रमाण नभएका कारण उसलाई पछि छाडियो ।सिरियल किलर पत्ता लगाउन नसकेपछि सन् २०१८ मा लण्डनको महानगरीय प्रहरीले उक्त छानबिनको फाइल नै बन्द गर्‍यो ।बिरालोलगायतका पाल्तु जनावरको मृत्यु कुनै सिरियल किलरबाट नभई सडक दुर्घटना वा कुनै जंगली जनावरको आक्रमणबाट भएको दाबी पुलिसले गर्‍यो । तर मानिसहरु पुलिसको यस्तो अनुमान मान्न तयार थिएनन् । घरपालुवा जनावरको हत्याका पछाडि कुनै सिरियल किलरको हात रहेको मानिसहरुको ठम्याइ थियो ।तथापि पुलिसले नै अनुसन्धानको फाइल बन्द गरेपछि रहस्यमय सिरियल किलरको पत्ता लाग्न सकेन । बेलायतमा बिरालो लगायतका घरपालुवा जनावरको श्रृंखलाबद्ध हत्या कसले गरेको हो भन्ने कुरा रहस्यकै गर्भमा रह्यो ।