news-details
अन्तरास्ट्रिय

Share this post!

कामचोर गणित शिक्षकको अनौठो बहाना, तीन वर्षमा ७६९ दिन बिदा

आमरुपमा कतिपय स-साना केटाकेटीहरु स्कुल जानै मन गर्दैनन् र स्कुल जान नपरोस् भनेर अनेक खालका बहाना बनाउँदछन् । तर इटालीमा भने विद्यार्थीले होइन शिक्षकले नै बहानाबाजीको हद पार गर्दै तीन वर्षमा ७६९ दिन बिदा लिएर स्कुलमा अनुपस्थित भए ।गणित विषयका ती शिक्षकले बिदा बस्नका लागि यस्ता यस्ता बहाना बनाए कि सुन्दैमा अनौठो लाग्दछ । स्कुलमा तीन वर्ष जागिर गर्दा झण्डै दुई वर्षसम्म त उनी अनुपस्थित नै रहे ।इटालीको सिसिलीमा बस्ने ४७ वर्षका उनले पोर्डेनोनस्थित एक विद्यालयमा जागिर खाए । जागिर सुरु गरेको केही दिन स्कुल आएपछि उनले अनेक खालका बहाना बनाएर बिदा लिन सुरु गरे । सुरुमा उनले बिरामी भएको भनेर धेरै दिनसम्म बिदामा बसे । त्यसपछि आफ्नो सानो बच्चाको हेरचाह गर्नका लागि भन्दै बिदा लिए ।उनी लगातार बिदामा बस्न थालेपछि विद्यालय पनि एक्सनमा उत्रियो र उनीसँग बिरामी भए नभएको यकिन गर्नका लागि डाक्टरको सर्टिफिकेट माग्यो । तर उनले मेडिकल सर्टिफिकेट दिन आनाकानी गरे । विद्यालयले ताकेता गरेपछि उनले आफ्ना पारिवारिक चिकित्सकले तयार गरेको नक्कली बिरामी प्रमाणपत्र पेस गरे ।जब ती शिक्षकले तीन वर्षमै ७६९ दिन बिदा लिए अर्थात् सार्वजनिक बिदासमेत गरी एक हजार ९५ दिन स्कुलमा अनुपस्थित रहे तब विद्यालयले प्रहरीमा उजुरी गर्‍यो । यस अवधिमा उनले ४५९ दिन बिरामी बिदा र ३१० दिन बच्चा स्याहार बिदा लिएका थिए ।द सनमा प्रकाशित रिपोर्ट अनुसार प्रहरीले उक्त घटनाको अनुसन्धान अगाडि बढाएसँगै अनौठो तथ्य फेला पर्‍यो । ती शिक्षकले विद्यालयबाट बिदा लिएर अर्को ठाउँमा जागिर गरिरहेका रहेछन् । उनले कन्सल्टेन्सीको काम गर्दथे र विभिन्न कम्पनीसँगको सम्झौता बमोजिम इटालीका विभिन्न ठाउँमा यात्रा गर्दथे । विद्यालयमा बिदा लिएर गरेको अर्को जागिरबाट उनले ९७ हजार युरो रकम कमाएका रहेछन् ।अनौठो त के भने बिरामी भएको वा घरमा बच्चा हेर्नुपरेको भन्दै स्कुलबाट तलबी बिदा लिएका उनले उल्टै स्कुलसँग थप १३ हजार युरो भुक्तानी दाबी गरेका थिए ।अनुसन्धानबाट उनको बदमासी पुष्टि भएसँगै यो मामिला अदालतमा पुगेको छ र अदालतले त्यस अवधिमा उनले स्कुलबाट लिएको तलब भत्ता र थप दाबी बापतको रकमसमेत जफत गर्न आदेश दिएको छ । गोपनियताका कारण ती शिक्षकको नाम भने खुलाइएको छैन ।