news-details
अन्तरास्ट्रिय

Share this post!

भारतमा कोरोना खोप लगाउनेको संख्या १ अर्ब नाघ्यो

४ कात्तिक, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक अर्ब नाघेको छ ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बिहीबार बिहानसम्म कोभिड-१९ विरुद्धको खोपको डोज लगाउने संख्या एक अर्ब नाघेको हो । खोप लगाउनेको संख्या एक अर्ब नाघेसँगै कोभिडविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण उपलब्धि हात पारेको छ ।भारतमा जनवरी १६ देखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । शुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो भने फेब्रुअरी २ देखि अग्रपंक्तिमा खटिएका अन्य मानिसका लागि समेत खोप लगाउने व्यवस्था गरिएको थियो ।मार्च १ गतेदेखि ६० वर्षमाथिका र विभिन्न स्वास्थ्य समस्या भएका ४५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालिएको थियो । अप्रिल १ गतेदेखि ४५ वर्षमाथिका सबैलाई खोप लगाउने व्यवस्था गरिएको थियो । त्यस्तै मे १ देखि १८ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालिएको थियो ।छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका व्यक्तिप्रति आधार व्यक्त गरेका छन् । कोभिड महामारीलाई जित्ने राष्ट्रिय प्रयास स्वरुप खोप अभियानमा महत्वपूर्ण उपलब्धि हासिल भएको अवसरमा उनले अग्रपंक्तिमा खटिएका सबै मानिसलाई धन्यवाद दिएका हुन् ।भारतले इतिहास रचेको छ । भारतीय विज्ञान, इन्टरप्राइज र १३० करोड भारतीयको सामूहिक भावना विजयी भइरहेको देखिरहेका छौं’, मोदीको ट्विटर ह्वान्डलमा लेखिएको छ, ‘यो महान उपलब्धि हासिलका लागि क्रियाशील चिकित्सक, नर्स र अन्य सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’