news-details
अन्तरास्ट्रिय

Share this post!

अफगानिस्तानमा तालिबानी सत्ताको बर्बरता: आधुनिक समाजमाथिकै उपहास

बीबीसी प्रस्तोता याल्दा हाकिम अफगानिस्तानमा जन्मिएकी हुन् । अफगानिस्तानमा सोभियत संघको उपस्थितिपछि उनको परिवार त्यहाँबाट विस्थापित भयो ।यसका बाबजुद उनले लगातार अफगानिस्तानलाई  आफ्नो कार्यक्षेत्र बनाइरहेकी छिन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि बाहिर रहेकी याल्दा रिपोर्टिङका लागि पुन: स्वदेश फर्किइन् ।तालिबान सत्तामा आएको एकसय दिनपछि उनी अफगानिस्तान फर्किएकी हुन् ।तालिबानले सत्ता आफ्नो हातमा लिएपछि पहिलोपटक जन्मभूमि पुगेकी याल्दाको मनमा अनेकौँ प्रश्नहरू थिए ।पश्चिमा सहयोगमा रहेको सरकारलाई तालिबानले अपदस्थ गरेपछि अफगानिस्तानमा कस्ता परिवर्तन भए होलान् ? त्यहाँको शान्ति प्रक्रिया अब कुन बाटोमा जाला ? राज्यले लागु गरेको नयाँ नियम र कानूनका कारण त्यहाँका महिला र बालिकाको जीवनमा कस्तो प्रभाव परेको होला ? लगायतका कैयन् प्रश्नहरू बोकेर याल्दा अफगानिस्तान पुगेकी थिइन् ।पक्कै त्यहाँ पुग्दासम्म उनको मनमा एउटा प्रश्न उठेकै थिएन । लगातार धेरै दिनसम्म पारिश्रमिक नपाउँदा काममा जानेको काम प्रतिको जाँगर र उत्साह बाँकी रहला या नरहला ?बेलायतको जीवनमा रमाइरहेकी उनले काबुल नपुगेसम्म यो कुरा सोँचेको पनि थिइनन् । दिन, साता या महिना हुँदै लामो समय विना पारिश्रमिक काम गर्नुपर्ने बाध्यतामा अफगानीहरू पुगिसकेका थिए ।कान्दहारदेखि काबुलका अस्पतालसम्म उनले चहार्दा स्वास्थ्य क्षेत्रमा काम गर्नेले पारिश्रमिक पाएका थिएनन् । सरकारले उनीहरूलाई पारिश्रमिक उपलब्ध गराएको थिएन भने विदेशी दाताबाट आउने सबै रकम रोकिएका थिए । यसका बाबजुद उनीहरू निरन्तर काम गरिरहेका थिए । कुनै दिन आफूले गरेको कामको पारिश्रमिक पाउनेमा त उनीहरू आशावादी देखिन्थे । तर, त्यो कहिले पाउने भन्ने टुङ्गो थिएन ।काबुलको बाल अस्पतालमा कार्यरत नसरिन आफ्नो गुनासो सुनाउँदै भन्छिन्, ‘म यहाँ आइन भने यी बच्चाहरूको जीवन जोखिममा पर्नेछ ।  पैसा नपाए पनि म यहाँ आउन नछाड्नुको कारण नै यही नै हो ।’थुप्रै कमजोर असक्त र बच्चाहरू भर्ना गरिएका वार्डहरू सफा राख्नैपर्ने हुन्छ । यदि अस्पताल  सफा गर्ने कर्मचारी उपस्थित नभए फोहोरले बच्चाहरूमा थप सङ्क्रमणको जोखिम पनि त्यत्ति नै बढी हुन्छ ।अस्पतालको पर कुनै पहाडको छेउसम्म पुग्नुपर्ने नसराइनसँग अब त बस भाडा पनि छैन । सवारी साधन चढ्न असमर्थ रहेकै कारण उनलाई आफ्नो १२ घण्टाको सिफ्ट सकिएपछि हतार–हतार सामान पोको पारेर घर फर्कनको हतारो हुन्छ ।अस्पतालमा सफाइ गर्ने कर्मचारीको पनि दुर्दशा उस्तै छ । अस्पतालको हालत खराब भएपछि यसको नकारात्मक असर बालबालिकाहरूमा पनि परेको छ संयुक्त राष्ट्र सङ्घले जनाएअनुसार अफगानिस्तानमा अहिले २३ मिलियन व्यक्ति कुपोषणको शिकार बनेका छन् । ९५ प्रतिशतले पर्याप्त मात्रामा खान पाएका छैनन् । नसरिनले सफा गरिरहेको वार्डमै रहेकी तीन वर्षीया गुलनारको अवस्था अझ दयनीय छ । उनी यति धेरै कमजोर छिन् कि आँखा खोलेर बाहिरी दुनियाँ नियाल्न सक्दिनन् ।उनका आँखा भित्र घुस्रिएका छन् । कपाल पनि भुत्ल्याइएको झैँ छ । जब उठ्न खोज्छिन्, पी   डाको महसुस भएर रुन थाल्छिन् । कुपोषणबाट पीडित ती बालिकाले भोगेको दृश्य याल्दाका लागि निकै हृदय विदारक थियो ।तालिबान प्रवक्ता सुहाल सहिनले यस्तो समस्या आउनुको कारण अन्तर्राष्ट्रिय समुदाय भएको आरोप लगाउँछन् । उनी अहिले पनि पश्चिमा देशहरूलाई दोषी देखाइरहेका छन् ।पश्चिमा देशहरूले गरिबी, कुपोषण तथा मानवीय सङ्कटको कुरा उठाउने हो भने सहयोग पनि गर्नुपर्ने कुरामा उनी जोड दिन्छन् । उनले पश्चिमी राष्ट्रले मानव अधिकारको मात्र कुरा उठाउनको कुनै तुक नभएको जनाउँदै खाद्यान्न सङ्कट तथा गरिबी टार्न पनि सहयोग गर्न आवश्यक रहेको कुरा औँल्याएका छन् ।उनले भनेको अन्य कुरामा धेरै असहमति रहे पनि के कुरा साँचो हो भने अफगानिस्तानलाई यो सङ्कट र दुर्दशाबाट पार गराउन अन्तर्राष्ट्रिय निकायले चासो दिन जरुरी छ  ।तालिबान सत्तामा पुगेसँगै अन्तर्राष्ट्रिय दाताले हात झिकेका कारण त्यहाँको अर्थतन्त्र ध्वस्त भएको छ । कुनै पनि खालको मजदुरी गर्न तयार रहेको बताउने एक युवा बाटोमा उभिएर विगतमा इँटा भट्टामा काम गरेको दिनको सम्झना गरिरहेका छन् ।पहिले उनको मासिक आम्दानी २७० अमेरिकी डलर थियो । अहिले उनको आम्दानी मासिक २२ डलर पनि छैन । उनका चार सन्तान घरमा बिरामी छन् । उपचार गर्ने पैसा छैन । उनी आफ्नो र अन्य गरीब परिवारको कुने भविष्यको कुनै ठेगान नै नभएको बताउँछन् ।तालिबान सत्ताको एकसय दिनका बारे अन्तर्राष्ट्रिय सञ्चार माध्यममा धेरै समाचार प्रकाशित भए । यी सय दिनमा मानव अधिकार तथा महिला माथिको दमनका समाचारले पनि मिडियामा राम्रो स्थान पाए ।केही दिनअघि मात्र त्यहाँका महिलालाई टेलिभिजन श्रृङ्खलामा बन्देज गरिएको समाचार बाहिर आएको थियो । महिला सञ्चारकर्मी र प्रस्तोताहरूलाई अनुहार ढाक्ने बुर्का अनिवार्य गरिएको छ ।अगस्त महिनामा तालिबानले सत्ता कब्जामा लिएपछि यस किसिमको कडाइ एकैपटक गरिएको भने होइन, नियमहरू थपिँदै लगिएको छ ।अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाको बहिर्गमनसँगै इस्लामिक धार्मिक समूहको सैन्य समूहले सत्ता लिएको अफगानिस्तानमा यस अघि नै बालिकालाई विद्यालय जान बन्द गरेर घरमै बस्नुपर्ने नियम लागु गरिएको छ ।सन् १९९० को दशकमा तालिबान सत्ता स्थापित हुँदा पनि महिलाहरू  शिक्षा र रोजगारबाट वञ्चित गरिएका थिए ।पछिल्लो पटक तालिबान सरकारले सञ्चारमाध्य मार्फत आठ नयाँ नियम एकै साथ सार्वजनिक गरेको छ । यी नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।सारिया या इस्लामिक कानूनको विपक्षमा देखिने खालका फिल्मलाई प्रतिबन्ध लगाइएका छन् । पुरुषको धेरै अङ्ग देखिने दृश्य भएका फिल्मलाई पनि प्रतिबन्ध लगाइएका छन् ।अफगानिस्तानको विरुद्धमा या त्यहाँको धार्मिक विषयमा व्यङ्ग्य गरिएका कमेडी चलचित्रमाथि पनि प्रतिबन्ध लगाइएको छ  ।वैदेशिक संस्कृति देखिने  या विदेशी फिल्म पनि अब त्यहाँ प्रदर्शन गर्न पाइने छैन । धेरै अफगानी टेलिभिजनले महिला प्रमुख रहेको विदेशी ड्रामा प्रसारण गर्ने गरेका थिए । यो पूर्ण रूपमा वर्जित गरिएको छ ।अफगानिस्तानका पत्रकारहरूको सङ्गठनमा रहेका एक सदस्य हुजातुल्ला मुजादेदीले सरकारको यो निर्णय अनपेक्षित रहेको प्रतिक्रिया दिएका छन् । उनले सरकारले जारी गरेका सबै निर्देशिका व्यावहारिक नभएको तथा कुनै नियमका कारण टेलिभिजन नै बन्द हुने अवस्थामा पुग्न सक्ने बताएका छन् ।महिलालाई घरमा बस्ने सरकारी निर्णयको बारे बोल्दै काबुलका मेयरले सबै कामका क्षेत्रमा पुरुषलाई लगाएर अपुग भए मात्र सरकारले अर्को निर्णय गर्न सक्ने बताउँछन् ।तालिबान सरकारले महिलालाई काममा जान नदिने तथा बालिकालाई पढ्न नदिने दुवै निर्णय अस्थायी भएको जनाउँदै उनीहरूका लागि ती स्थान सुरक्षित नभएकाले सुरक्षित बनाउनका लागि यसो गरिएको जिकिर गर्दै आएको छ ।तालिबान सत्ताको उपस्थितिमा  सयौँ या हजारौँ व्यक्ति गुमनाम भएको आँकलन गरिएको छ । अगस्ट महिनामा तालिबानले सत्ता लिएसँगै हजारौँ विदेशीहरू त्यहाँबाट  घर फर्कन चाहेका थिए । धेरैको उद्धार समेत गरियो । त्यही समयमा थुप्रै नागरिक तालिबान लडाकुबाट हताहात भएको अनुमान गरिएको छ । कतिले त भागेर ज्यान जोगाएका थिए ।तालिबान सत्ताका बेला तेस्रो लिङ्गीमाथि भएको ज्यादतीको त सीमा नै थिएन । एलजीबीटी माथिको यो ज्यादतीका थुप्रै उदाहरण अहिले पनि भेटिन सक्छन् । यसै मध्येका एक मोहम्मद अहिले  भागेर पाकिस्तान  पुगेका छन् ।अफगानिस्तानमा अहिले पनि एलजीबीटीमाथि गरिने व्यवहार कठोर नै छ  । सन् १९९० को दशकमा त कोही समलिङ्गी भएको थाहा भएमा मृत्युदण्ड नै दिइने प्रचलन थियो । अहिले पनि यसरी मारिने क्रम जारी छ ।तालिबान सत्ताका केही नियम र कानूनी मान्यताहरू २१ औँ शताब्दीको समाजमाथिको उपहास नै मान्न सकिन्छ । यसका थुप्रै उदाहरण छन् । त्यहाँ थुप्रै पीडा छन् । कुपोषणको पीडा त सबैभन्दा चरम हो । यसले अबको भविष्य र आगामी पुस्ता कस्तो रहने भन्ने समेत चिन्ता उत्पन्न गराएको छ ।