news-details
अन्तरास्ट्रिय

Share this post!

सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं  : सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकले सेनासँग गरेको एक सम्झौताको चौतर्फी विरोध भएपछि राजीनामा दिएका छन्।  गत अक्टोबरमा सेनाले सत्ता कब्जा गरेपछि नजरबन्दमा रहेका हमदुक केही समयअघि मात्रै सेनासँग सम्झौता गरेर प्रधानमन्त्रीका रुपमा फर्किएका थिए।  तर कु गर्ने सेनासँगै शक्ति बाँडफाँड सम्बन्धी सम्झौता गरेर प्रधानमन्त्रीमा पुनर्वहाली भएपछि उनको चौतर्फी विरोध प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरुले सम्झौताको विरोध गर्दै पूर्णरुपमा नागरिक शासनको माग गरेका थिए। लगातार दोस्रो दिन ठूलो प्रदर्शन भएपछि हमदुकले पदबाट राजीनामा गरेका हुन्।  प्रदर्शनमा केहीको मृत्युसमेत भएको थियो। प्रदर्शनकारीले सेनासँगको सम्झौता खारेजीको माग गरेका छन्। राजीनामा घोषणा गर्न गरिएको टेलिभिजन सम्बोधनमा हमदुकले सुडान गम्भीर अवस्थामा पुगेको र यसले मुलककै अस्तित्वलाई खतरामा पारेको बताएका छन्।  उनले मुलुकलाई विपद्बाट जोगाउन आफूले सक्दो प्रयास गरेको दाबी पनि गरे। लामो समय सुडानमा शासन गरेका ओमार अल–बशिरको सरकार सन् २०१९ मा भएको विरोधसँगै अपदस्थ भएयता सुडानमा अस्थिरता जारी छ। त्यसपछि हमदुकको नेतृत्वमा बनेको लोकतान्त्रिक भनिएको सरकारमाथि सेनाको कु र पछिल्लो सम्झौता जस्ता विषयले अस्थिरता झन लम्बिने आशंका गरिएको छ।