news-details
राजनीति

Share this post!

माओवादी केन्द्रको बैठक: जनपरिचालनका कामहरुको जिम्मा प्रचण्डलाई, यस्ता छन् अन्य निर्णय

नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय भएको पनि नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बताए ।उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताए ।महराले भने, ‘अहिलेको समसामयिक परिस्थितिको विषयमा ब्रिफिङ गर्ने र परामर्श लिने उद्देश्यका साथ बैठक बोलाइएको हो । आजको बैठकमा तीनवटा कुरा बिफ्रिङ गर्नुभएको छ अध्यक्ष कमरेडले । एउटा आज बस्ने भनिएको थियो केन्द्रीय कमिटीको बैठक । हामीले यो तत्काललाई बस्न सम्भव छैन । अहिलेको जुन कोभिडको स्थिति छ, यो अलि चर्को छ । त्यसकारणले कोभिड अलि मत्थर नभएसम्म बैठक स्थगित गर्ने, तर तत्काल कामका निमित्त अध्यक्ष कमरेडले कामहरु अघि बढाउने भन्ने भयो । तलका बाँकी संगठनात्मक कामहरु रहेका छन् भने प्रदेश जिल्लाहरूले टुंग्याउने भन्ने निर्णय भयो । त्यसपछि केही कामहरु खास गरेर जनपरिचालनका कामहरु अध्यक्ष कमरेडले दिने भन्ने निर्णय भयो ।’नेता महराले एमसीसीको सवालमा अध्ययन गर्न पार्टीले कार्यदल बनाएको समेत जानकारी दिए । उनले भने, ‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ । त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुझाव पर्खिने भन्ने निर्णय भयो ।’ उनले निर्वाचनका बारेमा पनि छलफल भएको बताए । महराले भने, ‘तेस्रो कुरा चुनावको कुरामा छलफल चल्दैछ, चुनावमा सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्न पाए राम्रो भन्ने ढंगले छलफल चलिरहेको छ कार्यदलभित्र । यो छलफल अझ पनि जारी छ । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर यसको निष्कर्षमा पुग्न बाँकी नै छ ।’