news-details
अन्तरास्ट्रिय

Share this post!

युक्रेनको युद्ध : रुसका लागि मारियुपोल यति महत्वपूर्ण किन ?

रुससँग युक्रेनको युद्धमा मारियुपोलमा सबैभन्दा धेरै बमबारी भएको छ र यसै कारण यो शहर सर्वाधिक क्षतीग्रस्त भएको छ । लगातार रुसी हमला भोग्नुपरिररहेको मारियुपोल युक्रेनमा मस्कोको सैन्य अभियानको हिसाबले सबैभन्दा महत्वपूर्ण छ । तर किन ?

यो शहरमा कब्जा गर्नु रुसका लागि रणनीतिक जीत साबित हुनेछ र यस्तो भएकाो खण्डमा युक्रेनलाई एउटा ठूलै झट्का लाग्नेछ । यस्तो किन त ? यसका चार मुख्य कारण छन् ।


१. क्राइमिया र डोनबासबीच ल्याण्ड करिडोरः


भौगोलिक रुपमा मारियुपोल निकै सानो शहर हो तर क्राइमियामा कब्जा गरेपछि यो रुसका लागि महत्वपूर्ण भएको छ ।

रुसले लगातार आफ्ना सैनिकलाई पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भएका पृथकतावादीलाई जोड्ने कोसिस गरिरहेको छ ।
यूके जोइन्ट फोर्सेज कमान्डका पूर्व कमान्डर जनरल सर रिचर्ड ब्यारन्स भन्छन्, ‘मारियुपालेमाथि कब्जा गर्नु रुसको युद्धमा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’


उनी भन्छन्, ‘जब रुसीलाई आफूहरुले युद्ध सफलतापूर्वक समाप्त गरेको भन्ने लाग्छ त्यतिबेलासम्म उनीहरुले रुसबाट क्राइमियासम्म जमिनको बाटोमा एउटा पुल बनाइसकेका हुन्छन् र उनीहरुले यसलाई एउटा ठूलो रणनीतिक सफलताको रुपमा हेर्नेछन् ।’

मारियुपोलमा कब्जा भएको खण्डमा रुससँग ब्ल्याक सीसँग जोडिएको युक्रेनको ८० प्रतिशत तटीय क्षेत्र हुनेछ । यसलाई युक्रेनको समुद्री व्यापारलाई ठूलो झट्का लाग्नेछ र ऊ संसारबाट अलग्गिनेछ ।

पछिल्लो तीन हप्तादेखि युक्रेनको सेनाले रुसी बललाई शहरमा कब्जा गर्न रोकेको छ । तर यो विफलतालाई मध्यनजर गर्दै अब रुसी कमान्डरले घेराबन्दीका लागि मध्यकालीन रणनीतिलाई २१ औँ शताब्दिको हिसाबले लागू गर्न सुरु गरेको छ ।

रुसले मारियुपोललाई तोपखाना, रकेट र मिसाइलले भरिदिएको छ । ९० प्रतिशत शहर बर्बाद भइसकेको छ । यतिमात्रै होइन यहाँ बिजुली, ताजा पानी, खाना र स्वास्थ्य सम्बन्धि अत्यावश्यक वस्तुको आपूर्ति ठप्प पारिएको छ जसलाई मानवीय संकटकाल मानिएको छ । रुसले अब यसका लागि युक्रेनमाथि आरोप लगाएका छ । रुसका अनुसार युक्रेनले सोमबार बिहान ५ बजेसम्मको समयसीमामा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ ।

युक्रेनले आफ्नो अन्तिम सैनिकसम्म यो शहरको रक्षा गर्ने संकल्प लिइरहेको छ । रुसी बल क्रमशः केन्द्रतर्फ अघि बढिरहेको छ र शान्ति सम्झौता नभएको स्थितिमा रुसले अब मारियुपोलमा बमबारी बढाउने आशंका व्यक्त गरिएको छ ।

 रुसले यदि मारियुपोलमा पूरा नियन्त्रण पाउँछ भने पनि यहाँबाट उसका करिब ६ हजार सैनिक युक्रेनका अन्य हिस्सामा जान सक्नेछन् । हाल यी सैनिकलाई एक–एक हजार सैनिकको रणनीतिक समूहमा बाँडिएको छ ।

 यी सैनिकलाई थुप्रै अन्य इलाकामा पुनः तैनाथ गर्न सकिन्छ ।

– उत्तर–पूर्वमा ताकि उनीहरुले डोनबार क्षेत्रमा क्रेमलिन समर्थक पृथकतावादीसँग लडिरहेको युक्रेनी सेनाको सामना गर्न सकून् ।

– पश्चिममा ओडेसातर्फ जुन ब्ल्याक सी नजिकै युक्रेनको अन्तिम ठूलो शहर हो ।

– उत्तर–पश्चिम निप्रो शहरतर्फ ।

२. युक्रेनको अर्थव्यवस्था चौपट गर्नका लागि

मारियुपोल लामो समयदेखि अजोव सागरमा रणनीतिक रुपमा महत्वपूर्ण बन्दरगाह रहेको छ । अजोव सागर, ब्ल्याक सीसँग जोडिएको छ ।

अजोव सागर क्षेत्रमा यो सबैभन्दा ठूलो बन्दरगाह हो र यहाँ व्यापक स्तरमा फलाम र स्टिलसँग सम्बन्धित काम हुन्छ । सामान्य अवस्थामा युक्रेनबाट स्टिल, कोइला र मकै मारियुपोलबाटै मध्य पूर्व र अन्य स्थानका लागि निर्यात गरिन्थ्यो ।

आठ वर्षदेखि अर्थात्, सन् २०१४ मा जबदेखि मस्कोले क्राइमियामाथि अवैध कब्जा गरेको छ, यो शहर रुसी सैन्य बल र स्वघोषित मुक्त क्षेत्र दोनेत्स्क–लुहान्स्कमा रहेका क्रेमलिन समर्थकबीच शहर पिल्सिएको छ ।

मारियुपोलको नियन्त्रण गुमाउनु युक्रेनको अर्थव्यवस्थाका लागि एउटा ठूलो धक्का साबित हुनेछ ।

३. रुसले पाउनेछ प्रोपोगान्डाको मौका

मारियुपोलमा युक्रेनी लडाकूको इकाई पनि छ जसलाई अजोव ब्रिगेड भन्ने गरिन्छ । यसको नाम अजोव सागरमा राखिएको छ जुन मारियुपोललाई ब्ल्याक सीसँग जोडिन्छ । अजोव बिग्रेडमा नव–नाजीसहित धुर दक्षिणपन्थी चरमपन्थी समावेश छ ।

यद्यपि, युक्रेनी सेनाको अगाडि यो निकै कम संख्यामा हो तर मस्कोका लागि यी सैनिक प्रोपोगान्डाको हतियारजस्तै छ ।

यदि रुसले राम्रै संख्यामा अजोव ब्रिगेडका लडाकूलाई जिउँदै पक्राउ गर्न सफल हुन्छन् भने उसले युक्रेन र उसको सरकारलाई बदनाम गर्नका लागि रुसको सरकारी मिडियामा चलिरहेको सूचनाको युद्धको रुपमा प्रयोग गर्ने सम्भावना छ ।

४. मनोबलमा हुनेछ ठूलो असरः

यदि रुस मारियुपोला कब्जा गर्छ भने यो युद्धमा समावेश दुबै पक्षको मनोबलमा ठूलो असर छोड्नेछ ।

मारियुपोलमा रुसको जीतपछि क्रेमलिन आफ्नो जनतालाई सरकारी मिडियामार्फत् रुस आफ्नो लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको बताउन सक्नेछ ।

राष्ट्रपति पुटिन (जसका लागि यो युद्ध व्यक्तिगत प्रतित हुन्छ) का लागि यो सबैको ऐतिहासिक महत्व छ । उनले युक्रेनको ब्ल्याक सी तटरेखालाई नोवोरशिया (नयाँ रुस) को हिस्सा मान्छन् । रुसी साम्रज्यले १८ औँ शताब्दिमा अटोमन साम्राज्यसँग लगातार भएको थुप्रै युद्धमा दक्षिणमा ओडेसादेखि पूर्वमा लुहान्स्क भएको युक्रेनी क्षेत्रलाई हासिल गरेको थियो र यसलाई नोवोरशिया अर्थात् नयाँ रुस भनियो ।

सोभियत संघका बेला नोवारेशियाको धेरैजसो हिस्सा युक्रेनियन सोभियत सोशलिस्ट रिपब्लिकको हिस्सा हुने गर्दथ्यो जुन पछि गएर आधुनिक समयको युक्रेन बन्यो ।

मस्कोको यो कदम रुसीहरुलाई पश्चिम समर्थक किभ सरकारको अत्याचारबाट बचाउनका लागि हो भन्ने भावनालाई पुटिनले जनतामा फेरि जगाउन चाहन्छन् । हालै मारियुपोल पुटिन र उनको लक्ष्यबीच खडा छ ।

तर युक्रेनीका लागि मारियुपोल उनीहरुको हातबाट उम्किनु निकै ठूलो झट्का हुनेछ । यसको सैन्य र अर्थव्यवस्थासँग जोडिएको असर त हुनेछ नै यसले ती महिला र पुरुषको हौसला पनि टुट्नेछ जो लामो समयदेखि यसको रक्षाका लागि जमिनमा संघर्षरत छन् । खेरसोनपछि मारियुपोल पहिलो ठूलो युक्रेनी शहर हुनेछ जसमाथि रुसको कब्जा हुनेछ ।

यहाँ मनोबलको अर्को पक्ष पनि छ, युक्रेनले यहाँ कति हदसम्म रुसको सामना गर्नसक्छ भन्ने कुरा पनि आउँछ ।

मारियुपोलले रुसको प्रतिरोध पक्कै पनि गरेको छ तर त्यसको मूल्य पनि हेर्नुपर्नेछ । यो शहर लगभग बर्बाद भइसकेको छ । इतिहासमा यो ग्रोजनी र अलेप्पोको सूचीमा समावेश हुन् जहाँ रुसको बमबारीले भग्नावशेषबाहेक केही पनि छोडेको छैन । यो युक्रेनका अन्य शहरका लागि सन्देश पनि हो – तपाईंले मारियुपोलजस्तै लडाईं छान्नु हुन्छ भने तपाईंको भविष्य पनि यस्तै हुनेछ ।

जनरल सर रिचर्डस् बेरन्स भन्छन्, ‘रुस मारियुपोलमा घुस्न सक्दैन, उसले त्यहाँ आफ्नो ट्याङ्क उतार्न सक्दैन, त्यसैले उसले यसलाई भग्नावशेषको थुप्रो बनाइरहेको छ । र हामीले ती स्थानको हातल पनि यस्तै देख्न सक्छौँ जुन रुसका लागि महत्वपूर्ण छ । ’