news-details
अन्तरास्ट्रिय

Share this post!

टर्कीमा रुस-युक्रेन शान्ति वार्ता आज

काठमाडौं : युक्रेन र रुसबीच आज शान्ति वार्ता हुँदैछ। दुई देशबीचको वार्ता टर्कीको इस्तानबुलमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुने जनाइएको छ। वार्ताका लागि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभ गरेका छन्।  त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पाडोल्याक पनि सहभागी हुनेछन्। इस्तानबुल पुगेको युक्रेनी प्रतिनिधि मण्डलले आफूहरुको मुख्य प्राथमिकता युद्धविराम रहेको बताएको छ। दुई हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानको मध्यस्थतामा रुस र युक्रेनका अधिकारीले वार्ता गरेका थिए। रुसले युक्रेनलाई नेटोमा आबद्ध हुन नहुने प्रमुख माग राखेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोमा आबद्ध नहुन शर्तमा यसअघि नै सहमति जनाइसकेका छन्।  युक्रेनी पृथकतावादीहरुको पकड रहेको क्षेत्रलाई स्वतन्त्र बनाइदिनुपर्ने रुसी शर्त छ। युक्रेनी राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगर्ने यसअघि नै बताएका छन्।  यसअघि रुसले युक्रेनको क्राइमियालाई स्वतन्त्र क्षेत्रको मान्यता दिँदै युक्रेनमाथि आक्रमण थालेको थियो। विद्रोहीहरुको प्रभाव रहेका लुहान्स्क र दोनेत्स्कलगायतका क्षेत्रलाई पनि रुसले स्वतन्त्र बनाउन खोजिरहेको छ। रुसले युक्रेन निशस्त्रीकरण हुनुपर्ने शर्त पनि अगाडि सारेको छ। यी शर्तहरुका कारण शान्ति वार्ता सफल हुनेमा आशंका गरिएको छ।