news-details
अन्तरास्ट्रिय

Share this post!

पाकिस्तानमा इमरान खानको सत्ता संकटमा

काठमाडौं : पाकिस्तानमा राजनीतिक संकट गहिरिँदै गएको छ। प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गर्न बनेको विपक्षी गठबन्धन थप बलियो बन्दै जाँदा संकट गहिरिएको हो। प्रधानमन्त्री इमरान खानको तहरीक–ए–इन्साफ पार्टीसँग गठबन्धन गरेको सत्तारुढ पार्टी मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान एमक्युएम–पीले पनि विपक्षी गठबन्धनसँग हात मिलाएको छ। यो पार्टी विपक्षी गठबन्धनमा सामेल भएपछि इमरान खानको सत्ता संकटमा परेको छ। गठबन्धन भत्किएपछि अल्पमतमा परेका प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा हिजो गर्ने भनिएको सम्बोधन पनि स्थगित भएको छ। सन् २०१८ मा आम निर्वाचन जितेर सरकार गठन गरेका प्रधानमन्त्री खान पूर्ण कार्यकाल सत्तामा बस्नसक्ने अवस्था कमजोर बनेको छ। पाकिस्तानको इतिहासमा लोकतान्त्रिक प्रक्रियाबाट चुनाव जितेर बनेका कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न पाएका छैनन्। विपक्षी पार्टीहरुले प्रधानमन्त्री इमरान खानमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै आएका छन्। साथै उनीहरुले विदेश नीतिमा सम्झौता गर्दै मुलुकमा विदेशी हस्तक्षेप बढाएको आरोप लगाएका छन्। इमरान खान राजनीतिमा आउनुअघि क्रिकेटका विश्व चर्चित खेलाडी थिए। उनको कप्तानीमा पाकिस्तानले सन् १९९२ मा क्रिकेटको विश्वकप उपाधि जितेको थियो। प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आजदेखि संसदमा छलफल हुँदैछ।