news-details
अन्तरास्ट्रिय

Share this post!

श्रीलंकामा कर्फ्यु उल्लंघन गरेको आरोपमा ६६४ जना पक्राउ

श्रीलंकामा सरकारले लागू गरेको कर्फ्यु उल्लघंन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ। स्थानीय समयअनुसार शनिबार राति १० बजेदेखि आइतबार बिहान ६ बजेसम्म पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो। सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको छ।कर्फ्यु लागू भएका वेला अनुमतिविना हिँडडुल गर्न नपाइने भए पनि हिँडडुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलंकामा देशव्यापी सुरक्षाका लागि भन्दै संकटकाल घोषणा गरेको छ। आन्दोलनकारीले राष्ट्रपति गोतबाया राजपाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि उनीहरू र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो।त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए। चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधि बढ्न थालेकाले संकटकाल घोषणा गर्नुपरेको सरकारी अधिकारीहरूले जनाएका छन्।सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्तिका लागि भन्दै आपत्‌कालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ। सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि आदेश जारी गरेको छ। राजधानी कोलम्बो लगायतका मुख्य शहरमा सुरक्षाकर्मीले रातको समयमा निषेधित क्षेत्र घोषणा गरेको छ। आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत् आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरू आन्दोलित भएका हुन।सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलंका पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा  जनता आन्दोलित भएका हुन्। अघिल्लो साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो।