Share this post!
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा लागू हुँदै आएको आपतकालको औपचारिक अन्त्य भएको छ ।कोरोना भाइरसको महामारीका कारण लागू गरिएको आपतकाल अहिले महामारी कम हुँदै गएकाले अन्त्य गरिएको सरकारले जनाएको छ । राष्ट्रपति सिरिल रामाफोसाले सोमबार मध्यरातदेखि आपतकाल अन्त्य भएको घोषणा गर्नु भएको हो ।अहिले महामारी बढी रहेको छैन, भाइरस फैलिने क्रम पनि निकै कम भएको छ, यसको डर त्रास पनि देखिएको छैन, त्यसैले अहिलेलाई आपतकालीन अवस्थाको अन्त्य गरिएको छ,” उहाँले भन्नुभयो । राष्ट्रिय स्वास्थ्य ऐन मार्फत नै अहिलेको स्वास्थ्य अवस्थाको व्यवस्थापन हुने भएकाले आपतकालको आवश्यकता नरहेको उहाँको भनाई छ ।टेलिभिजन मार्फत देशका नाममा सम्बोधन गर्दै उहाँले आपतकाल लागू गरिएको ७५० दिन पछि आपतकालको अन्त्य गरिएको जानकारी दिनुभयो । दक्षिण अफ्रिकामा सन् २०२० को मार्च देखि आपतकाल लागू गरिएको थियो । आपतकाल लागू गरिएका बेला सरकारलाई धेरै काममा थप अधिकार दिएको थियो भने कतिपय निर्णय तथा काम गर्न छोटो प्रक्रिया बनाइएको थियो ।कोरोना भाइरसको महामारीबाट अत्यन्त धेरै प्रभावित दक्षिण अफ्रिकी मुलुकहरू मध्ये अग्रस्थानमा रहेको दक्षिण अफ्रिकामा अहिलेसम्म कोरोनाका कारण एक लाख ५२ जनाको मृत्यु भएको छ । त्यसैगरी ३६ लाख ६७ हजार ५६० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।