news-details
समाचार

Share this post!

आयात घटाएर राजस्व वृद्धि गर्न सकिन्न :  ज्ञवाली

नेकपा(एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताए ।राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताए । उनले सेनेटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे । सांसद ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताए । उनले भने– ‘एकातिर आयात घटाउँछु भन्नुहुन्छ, अर्कोतिर राजस्व बढाउँछु भन्नुहुन्छ । जबकी हाम्रो राजस्वको अत्याधिक ठुलो हिस्सा आयातमाथि निर्भर छ । कयौँ चिजहरू यस्तो छ, जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी ल्याउनुभएको देखिन्छ । सेनेटरी प्याडको, विद्युतीय सवारी साधनको बारेमा जेजस्ता कुराहरु आइरहेका छन् यसअघि नै रेकर्ड भइसकेको हुनाले म दोहोर्याउन चाहन्न । पूँजीगत खर्च घटाउनुभएको छ । करिब २१ प्रतिशत छ । २१ प्रतिशत पूँजीगत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि यसको लागि त नयाँ आडम स्मिथ खोज्नुपर्ने हो कि ? नयाँ मार्क्स खोज्नुपर्ने हो कि ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यो कुरा कहीँ हुन्छ जस्तो मलाई लाग्दैन । सेवामा समेत हाम्रो ठुलो पैसा बाहिरिएको छ । यो वर्ष मात्रै झण्डै ४४ अर्ब रुपैयाँ शिक्षामा हाम्रो बाहिरियो । त्यसलाई रोक्न खोइ हामीसँग कार्यक्रम ? त्यसको आधा मात्रै यहाँ देशभित्र शिक्षामा लगानी गर्ने हो भने हाम्रो सेवामा बाहिरिइरहेको पैसा त रोक्न सकिन्थ्यो । यस सम्बन्धी मैले कुनैपनि कार्यक्रमहरु देखिन ।’सांसद ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानी भित्र्याउन नसकिने बताए । उनले विगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढी गण्डकीलाई गिजोलिएको बताए । सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको बताए ।उनले भने– ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ । तर तपाईंहरुको क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ । हिजो गिजोल्नुसम्म गिजोलियो एमसीसी । कुरो त जहाँको त्यही छ तर एमसीसी पास गर्नुभयो । आज फेरि त्यसैगरी बुढी गण्डकी गिजोल्दै हुनुहुन्छ । यसले लगानीकर्तालाई बाह्य जगतलाई विश्वासको सन्देश दिँदैन । विश्वास भएन भने लगानी गर्दैन ।’ प्रस्तुत बजेटले अर्थतन्त्रको मूलभूत समस्यालाई समाधान गर्न नसक्ने उनको भनाई छ ।