news-details
अन्तरास्ट्रिय

Share this post!

साउदी अरबमाथि बढ्दैछ पाकिस्तानको निर्भरता

इमरान खानले सन् २०१८ अगस्टमा प्रधानमन्त्रीको शपथ लिएपछि अर्को महिना पहिलो विदेश भ्रमण गन्तव्य साउदी अरब रोजे । इमरान खानले आफ्नो साढे चार वर्षको कार्यकालमा कुल ३२ वटा विदेश भ्रमण गरे, जसमध्ये आठ साउदी अरब नै थियो । उनी कहिले साउदी राजतन्त्रप्रति सम्मान देखाउन, त कहिले आर्थिक सहयोग माग्न साउदी अरब गएका थिए ।इमरानको सरकार अपदस्थ भएपछि प्रधानमन्त्री बनेका शेहबाज सरिफले पनि साउदी अरबलाई उनको पहिलो विदेश भ्रमणको गन्तव्य बनाए । पाकिस्तान र साउदी अरबबीचको सम्बन्ध पाकिस्तानको स्थापनादेखि नै बलियो थियो । दुई मुलुकबीचको घनिष्ठता सन् १९७० देखि झन् सुदृढ भयो । अहिले पाकिस्तानका प्रधानमन्त्री तिनको पहिलो भ्रमणमा साउदी जान लागेका छन् ।पाकिस्तानी नेताको बढ्दो साउदी भ्रमण आर्थिक रुपमा कमजोर पाकिस्तानलाई साउदी अरबले दिने आर्थिक सहयोग जिम्मेबार रहेको मान्छन् विश्लेषक । ​शेहबाज शरीफले साउदी अबरको भ्रमणमा सो मुलुकबाट ८ अर्ब डलरको राहत प्याकेजको प्रतिबद्धता पाए ।पाकिस्तानी मिडिया द न्युजका रिपोर्ट अनुसार साउदी अरेबियाले पाकिस्तानलाई तेलको लागि दिइने आर्थिक राहतलाई दोब्बर बनाएको छ । त्यसबाहेक उसले ४.२ अर्ब डलरको ऋणलाई निरन्तरता दिनेछ ।  साउदी अरबले अघिल्लो ऋण सम्झौता अन्तर्गत डिसेम्बर २०२१ मा स्टेट बैंक अफ पाकिस्तानमा तीन अर्ब डलर जम्मा गरिदिएको थियो ।कराँचीको आईबीए युनिभर्सिटीकी प्राध्यापक हुमा बकाई भन्छिन् ,‘ इमरान खान र शेहबाज शरीफ प्रधानमन्त्री बनेलगत्तै साउदी अरब गए किनकि दुवै नेतालाई तत्काल आर्थिक सहयोग जुटाउनुपर्ने थियो । परिस्थिति जस्तोसुकै भए पनि साउदी अरबले पाकिस्तानको अर्थतन्त्रलाई जिवित राख्न सघाउने गरेको छ ।पाकिस्तानको अर्थतन्त्रमा जब जब समस्या आउँछ, तब तब साउदी अरब उनको आर्थिक सहयोगका लागि अगाडि आउँछ । गत वर्ष पनि पाकिस्तान नयाँ आर्थिक कठिनाईमा पर्दा डलरको तुलनामा पाकिस्तानी रुपैयाको मूल्याकंन घटिरहेको थियो र विदेशी मुद्रा सञ्चिति निरन्तर खिईरहेको थियो । त्यसबेला पाकिस्तानको सहयोगका लागि साउदी अरब पुन अघि आएको थियो ।
गत वर्ष अक्टोबरमा साउदी अरबले पाकिस्तानलाई ४.२ अर्ब डलरको आर्थिक सहयोग गरेको थियो । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा यो सहयोगको घोषणा गरिएको थियो ।पाकिस्तानले सन् २०२१ को डिसेम्बरमा साउदी अरबबाट ऋण पाएपछि इमरान खानले साउदी अरबलाई धन्यवाद दिँदै भनेका थिए ,‘ पाकिस्तानको केन्द्रीय बैंकलाई तीन अर्ब डलर र तेल सहयोगका लागि १.२ बिलियन डलर दिएकोमा हामी साउदी अरबका युवराजप्रति आभार व्यक्त गर्दछौं । साउदी अरबले हरेक कठिन समयमा पाकिस्तानको साथ दिएको छ ।’
साउदीका लागि पाकिस्तान पनि महत्वपूर्ण छ 
सुन्नी बहुल साउदी अरब र शिया बहुल इरान अरब संसारमा वर्चस्वका लागि प्रतिद्वन्द्वी छन् । इरान र साउदी अरब एकअर्कासँग प्रतिद्वन्द्वीको जस्तो मात्र होइन, शत्रुजस्तो व्यवहार गर्छन् । यमनमा यी दुई मुलुक छद्म युद्ध लडिरहेका छन् । विश्लेषकका अनुसार साउदी अरबले आवश्यकता पर्दा पाकिस्तानबाट सैन्य सहयोगको अपेक्षा गर्दछ । इरानसँग पाकिस्तानको सिमाना पनि जोडिएको छ । फ्रान्समा बसोबास गर्ने निर्वासित पाकिस्तानी पत्रकार तहा सिद्दिकीले १६ फेब्रुअरी २०१९ मा अल–जजीरामा प्रकाशित लेखमा साउदी अरबले आर्थिक प्याकेज र लगानीका वाचामार्फत आर्थिक रूपमा कमजोर पाकिस्तानको बफादारी किन्न खोजेको लेखेको छन् । सिद्दिकीका अनुसार पाकिस्तानी सिमानामा साउदी अरबले उसकै मर्जी अनुसार नीति बनाउन थालेको छ । ​ताहा सिद्दीकीले लेखेका छन् ,‘ दुई देशबीचको सम्बन्धमा साउदी ऋण कुनै नौलो कुरा होइन । साउदीको पैसा र अमेरिकी नीतिका कारण इस्लामाबाद सधैं रियादको नजिक रहेको छ । जिया–उल–हकले सन् १९७७ मा वामपन्थी जुल्फिकार अली भुट्टोलाई सत्ताबाट हटाएपछि यो सम्बन्धको उदय भयो । उक्त कदम अमेरिकाको नजिक आउन उठाइएको थियो ।’
साउदी अरबको तेल शक्ति
सन् १९७० को दशकमा तेलको मूल्य बढ्न थालेपछि साउदी अरेबियाको राज्यकोष भरिन थाल्यो । साउदी राज्य कोषमा चाहिनेभन्दा धेरै पैसा जम्मा भएको थियो । यही पैसाको बलमा साउदी अरेबियाले अरब र मुस्लिम संसारमा ‘चेकबुक कूटनीति’ अगाडि बढाएको विश्लेषकको विश्वास छ । साउदी अरेबियाले सन् १९७० यता कैयौं देशको समर्थन प्राप्त गर्न राज्यकोषको पैसा धेरै खर्च गर्यो ।साउदी अरबले पाकिस्तानलाई ऋणमा मात्र होइन, धार्मिक पूर्वाधारमा पनि सहयोग गरेको थियो । पाकिस्तानका मस्जिद र मदरसाले साउदी अरबबाट ठूलो सहयोग पाएको छ । साउदी सहायता धेरै रुपमा पाकिस्तानमा आयो । यसमा सैन्य र नागरिक सहायताको रूपमा मात्र होइन, धार्मिक सहयोगको लागि पनि थियो । जिया–उल–हकको सरकारले मस्जिदहरूमा साउदी खर्चलाई अनुमति दिएको थियो तर त्यो सहयोगले सिया विरोधी र कट्टर इस्लामको प्रवद्र्धन गयो । पछि पाकिस्तानमा सियाविरुद्ध हिंसा बढ्यो ,’ ताहा सिद्दीकी लेख्छन् ।
साउदी पाकिस्तान घनिष्ठतामा अमेरिकाको भूमिका
अमेरिका साउदी अरबको मित्रराष्ट्र हो । अमेरिकाका लागि पनि पाकिस्तान महत्वपूर्ण रहेको छ । सन् १९७९ मा भएका दुईटा घटनाले पाकिस्तान अमेरिकी विदेश नीतिको लागि महत्वपूर्ण बन्यो । पहिलो फेब्रुअरीमा इरानमा इस्लामिक क्रान्ति र दोस्रो वर्षको अन्त्यतिर अफगानिस्तानमा सोभियत संघको आक्रमण ।सोभियत संघ र इरानको प्रभावलाई कम गर्न अमेरिकाले पश्चिम एसियामा मोर्चा निर्माण गर्न चाहेको थियो । यी परिस्थितिले पाकिस्तानलाई अमेरिकाका लागि विशेष बनायो र साउदी अरेबियासँग पनि नजिक ल्यायो । तर, इमरान खानको सरकारमा अमेरिका र पाकिस्तानबीचको सम्बन्धमा स्पष्ट कटुता देखिएको थियो । विश्लेषकका अनुसार नयाँ पाकिस्तानी सरकराले अमेरिकासँगको सम्बन्धलाई पुनः ट्रयाकमा ल्याउने प्रयास गर्नेछ । योसँगै पछिल्ला वर्ष साउदी अरब र अमेरिकाबीच दूरी बढ्न थालेको छ ।  साउदी र अमेरिकाबीचको सम्बन्धमा तिक्तताको कारण यमन युद्ध पनि हो । 
साउदी अरबलाई अमेरिकाले आफूलाई सहयोग नगरेको लागेको छ । मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै साउदी अरेबिया रणनीतिक रूपमा अझ बलियो बन्न चाहन्छ र त्यो पनि अमेरिकासँगको दुरी कायम राखेकै । 
परमाणु कारक
पाकिस्तान एक आणविक शक्ति राष्ट्र हो र साउदी अरेबियासँग आणविक हतियार छैन । अक्टोबर २०२१ मा पाकिस्तानी प्रधानमन्त्रीको रूपमा साउदी अरबको भ्रमणका क्रममा इमरान खानले साउदीको सुरक्षामा कहिल्यै खतरा आयो भने पाकिस्तान उनलाई सहयोग गर्न अगाडि आउने बताएका थिए ।इमरान खानले बाँकी विश्वको अडान जे भए पनि आफ्नो मुलुक साउदी अरेबियाको साथमा रहने प्रतिबद्धता गरेका थिए । पाकिस्तानले साउदी अरेबियाको सेनालाई पनि तालिम दिन्छ ।
भारतसँगको साउदी निकटताले पाकिस्तानको सम्बन्धमा प्रभाव 
पाकिस्तानका मित्र राष्ट्र साउदी अरब पछिल्ला वर्षमा भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ । साउदी अरबका सेना प्रमुखले यसै वर्ष फेब्रुअरीमा भारतको भ्रमण गरेका थिए । कुनै पनि साउदी सेना प्रमुखको यो पहिलो भारत भ्रमण हो ।तीन वर्षअघि साउदी युवराज मोहम्मद बिन सलमान भारत आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकललाई बेवास्ता गर्दै विमानस्थल पुगेर  उनको स्वागत गरेका थिए । त्यसको केही महिनापछि अक्टोबर २०१९ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको भ्रमण गर्दा दुवै देशले रणनीतिक सहयोग परिषद्को स्थापना गरेका थिए ।
त्यसपछि सन् २०२० डिसेम्बरमा तत्कालीन भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले साउदीको भ्रमण गरे । कुनै पनि भारतीय सेना प्रमुखको त्यो पहिलो साउदी भ्रमण थियो । भारतसँग साउदी अरेबियाको बढ्दो निकटताबाट पाकिस्तान असहज भएको छ । यसका बाबजुद पनि साउदी अरेबिया र पाकिस्तानबीचको घनिष्टता घटेको छैन । प्राध्यापक हुमा बकाइ भन्छिन् ,‘ साउदी अरब र पाकिस्तानबीचको सम्बन्ध अझै मजबुत छ तर अहिले यसमा सर्त थपिएका छन् । ’ पाकिस्तानको अर्थतन्त्र यतिबेला निकै कठिन अवस्थाबाट गुज्रिरहेको छ । यस्तो संकटको घडीमा पाकिस्तानका नेताहरू साउदी अरेबियातर्फ हेरिरहेका छन् ।
तर के साउदीले पहिलेजस्तै पाकिस्तानलाई सहयोग गरिरहन सक्छ । प्रोफेसर बकाइ पाकिस्तानलाई साउदीले दिएको सहयोग यथार्थमा घटेको बताउँछन् । ‘ पाकिस्तानको आर्थिक सार्वभौमसत्ता संकुचित हुँदै गएकाले उ अब साउदी अरेबियासँग सम्बन्धमा मुखर हुनसक्ने स्थिति छैन । र साउदी अरबका पनि आफ्नै आर्थिक सीमाहरु छन् । उसले यमन लगायत युद्धमा साधनस्रोत प्रयोग गर्छ । त्यसले उसले पाकिस्तानलाई दिने आर्थिक सहायता वास्तवमा घटेको छ ,’ प्रोफेसर बकाई भन्छन् । 
भारत सरकारले २०१९ मा जम्मु कश्मीरलाई भारतको संविधानको धारा ३७० ले दिएको विशेषाधिकार खारेज गर्दा पाकिस्तानले साउदीले पनि सो कदमको विरोध गर्ने अपेक्षा गरेको थियो । तर त्यसो भएन । पाकिस्तानले साउदीप्रति आफ्नो असन्तुष्टि पनि खुलेर व्यक्त गर्न सकेन । कमजोर आर्थिक अवस्थाका कारण पाकिस्तानले साउदीको खुलेर विरोध गर्न नसकेको विश्लेषकहरुको विश्वास छ ।